
मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो त्रैमासिकमा फ्रान्सको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैंकले आर्थिक वृद्धिदरको पूर्वानुमान घटाउने संकेत दिएको छ।
बैंक अफ फ्रान्सका निवर्तमान गभर्नर फ्राँस्वाँ भिलेरोय डे गाल्हाउले पहिलो त्रैमासिकको अप्रत्याशित गिरावटलाई ध्यानमा राख्दै मार्चमा गरिएको वृद्धि प्रक्षेपण संशोधन गरिने बताएका छन्।
सरकारी तथ्याङ्कअनुसार पहिलो त्रैमासिकमा फ्रान्सको जीडीपी ०.१ प्रतिशतले खुम्चिएको छ। यसले सरकारले चालु वर्षका लागि गरेको ०.९ प्रतिशत आर्थिक वृद्धिको अनुमानमाथि प्रश्न उठाएको छ।
भिलेरोयले निर्यातसँगै घरेलु उपभोग, लगानी तथा कर्पोरेट लगानीमा पनि सुस्तता देखिएको उल्लेख गर्दै मध्यपूर्व द्वन्द्व र तेल मूल्यको भविष्यबारे अझै अनिश्चितता रहेको बताएका छन्।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि फ्रान्सको आर्थिक वृद्धिदरको अनुमान घटाएर ०.७ प्रतिशतमा झारेको थियो।