२५ जेठ २०८३, सोमबार

भाजपा मुख्यालयमा अध्यक्ष नितिनसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै रवि लामिछाने

जेठ १९, २०८३
काठमाडौं
भाजपा मुख्यालयमा अध्यक्ष नितिनसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्दै रवि लामिछाने

भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न भेटघाट गर्ने भएका छन् ।

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतितिनिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने उनले बताए । 

यसअघि आजै सभापति लामिछानेले नेपालको बदलिँदो राजनीतिक परिदृश्य र नेपाल–भारत सम्बन्धको भविष्यलाई लिएर छिमेकी देश भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘हिन्दुस्तान टाइम्स’मा लेख प्रकाशित गरेका छन् । 

आज प्रकाशित लेखमा नेपाल–भारत सम्बन्धलाई पूर्ण रूपमा पुनर्स्थापित गर्ने दशकौँपछिको सबैभन्दा अनुकूल अवसर (ऐतिहासिक झ्याल) का रूपमा चित्रण गरिएको छ । उनले दुई देशबीचको सहकार्यलाई भूराजनीतिक टकरावबाट मुक्त गरी विकास कूटनीतिमा केन्द्रित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

लामिछानेले आफ्नो लेखमा नेपालमा हालैका वर्षहरूमा भएको राजनीतिक परिवर्तन कुनै सैन्य कू, सडक हिंसा वा संवैधानिक शून्यताबाट नभई शान्तिपूर्ण र लोकतान्त्रिक मतदान क्रान्तिमार्फत भएको उल्लेख गरेका छन् । 

नयाँ स्थापित राजनीतिक दलले चार वर्षभन्दा कम समयमै झन्डै दुई तिहाइको संसदीय बहुमत प्राप्त गर्नु र विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित हुनु राजनीतिक इतिहासमै एउटा अभूतपूर्व घटना भएको उनको दाबी छ। यसले विश्वभर र विशेष गरी नेपालसँग लामो साझा सीमा भएको छिमेकी भारतमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक रहेको चर्चा गर्दै उनले रास्वपाले प्राप्त गरेको मत आक्रोश र आशा दुवैको प्रतिबिम्ब भएको र अबको नेपाल सुशासन, विकास र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको मार्गमा अघि बढेको प्रष्ट पारेका छन्।

आफ्नो दल र वर्तमान नेतृत्वको सबैभन्दा ठूलो सम्पत्ति नै विगतको कुनै झोला नबोक्नु र पुराना नेताहरूजस्तो विगतका सानातिना सम्झौता वा मौन समझदारीमा नलगाउनु रहेको लामिछानेले दाबी गरेका छन्। 

आफूहरूले भारत र संसारलाई खुला हृदय, स्पष्ट आँखा र पारदर्शी एजेन्डाका साथ हेर्ने भन्दै उनले दुई देश केवल छिमेकी मात्र नभएर अयोध्या–जनकपुर, पशुपतिनाथ–केदारनाथ र लुम्बिनी–बोधगयाको सांस्कृतिक सामीप्यता बोकेको प्राचीन सभ्यताका साझेदार रहेको बताएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्