२५ जेठ २०८३, सोमबार

घुस प्रकरणमा सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा, ५० लाख बिगो कायम

जेठ १९, २०८३
काठमाडौं
घुस प्रकरणमा सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा, ५० लाख बिगो कायम

घुस लेनदेनसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) त्रिवेणी गाउँपालिका–७ निवासी ईश्वरी प्रसाद गौतमविरुद्ध ५० लाख रूपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको हो ।

आयोगका अनुसार चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा सहयोग गरेकाले गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो ।

तर, उनले विशेष अदालतमा गत वैशाख २३ गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान तथा आरोप मागदाबीको प्रतिकूल हुने गरी बयान दिएको पुष्टि भएपछि उनीमाथि थप अनुसन्धान गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

अधिकारीले ऋण उपलब्ध गराइदिने भन्दै मागेको ५० लाख रूपैयाँ घुस लेनदेनको कार्यमा गौतमको संलग्नता देखिएको आयोगको निष्कर्ष छ ।

सोही आधारमा अख्तियारले गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिम कसुर कायम गरी ५० लाख रूपैयाँ बिगो निर्धारण गरेको छ । उनीविरुद्ध सोही ऐनअनुसार कैद र बिगो बराबरको जरिवानाको मागदाबीसमेत गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्