२८ जेठ २०८३, बिहीबार

पर्यटक भिसामा व्यापार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

जेठ २१, २०८३
काठमाडौं
पर्यटक भिसामा व्यापार गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्यविपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियन्त्रणमा लिइएका दुवै जना पुरुष हुन् । उनीहरू पर्यटक भिसामा नेपालमा बसोबास गर्दै विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागले जनाएको छ ।

प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत प्रचारप्रसार गर्दै सम्पर्कमा आएका ग्राहकलाई विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने दाबी गरे पनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको विभागको भनाइ छ ।

अनुसन्धानका क्रममा ती नागरिकले दुई वर्षअघि विदेशी लगानी भित्र्याई ‘LIU JUN Hotel with Restaurant’ स्थापना गर्ने उद्देश्यले व्यावसायिक (बिजनेस) भिसा प्राप्त गरेको देखिएको छ । तर प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नपाइएको र हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार उनीहरू सन् २०२४ मा चीनस्थित Tibet Huida International Trade तथा Xizang Shang Cheng Health Industries का बजार विश्लेषकका रूपमा नेपाल प्रवेश गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले नेपालमा गैरकानुनी रूपमा व्यावसायिक गतिविधि सञ्चालन गर्न नेपाली नागरिकको नाममा ‘Nepal Zangni Trading and Investment’ नामक कम्पनी दर्ता गराई चिनियाँ कृषि फार्मको नाममा व्यवसाय सञ्चालन गरेको देखिएको छ । उक्त कम्पनीको प्रचारप्रसारसमेत टिकटकमार्फत गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागले नेपालको अध्यागमन कानूनअनुसार विदेशी नागरिकले भिसा प्राप्त गरेको उद्देश्यबाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने स्पष्ट पारेको छ । 

भिसाको शर्त र उद्देश्यविपरीत गतिविधि गरेको पाइएमा अनुसन्धानपछि जरिवाना, निष्कासन तथा निश्चित वा अनिश्चित अवधिसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन सकिने व्यवस्था रहेको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्