२९ जेठ २०८३, शुक्रबार

अनौपचारिक श्रम बजारमा ज्यालाको समस्या भयानक देखियो

जेठ २१, २०८३
काठमाडौं
अनौपचारिक श्रम बजारमा ज्यालाको समस्या भयानक देखियो

 नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ ।

काठमाडौँमा आज एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ श्रमिकमाथि गरिएको अध्ययनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ । तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच गरिएको सर्वेक्षणमा ९३ दशमलव १ प्रतिशतसँग लिखित सम्झौता नभएको, ८९ दशमलव २ प्रतिशतले औपचारिक उजुरी नदिएको, २४ दशमलव ९ प्रतिशतले ढिलो भुक्तानी पाएको तथा १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएको उल्लेख छ ।

पुरुषका तुलनामा महिलाले ३१ दशमलव १ प्रतिशत कम ज्याला पाउने अवस्था प्रतिवेदनले देखाएको छ । असमान ज्यालाको समस्याबाट पुरुषको तुलनामा महिला श्रमिक ३ दशमलव ५ गुणा बढी प्रभावित भएको अध्ययनले जनाएको छ ।

ठेकेदार र प्रमुख रोजगारदाता उच्च शोषणको केन्द्र हुने गरेको प्रतिवेदनको निष्कर्ष छ । ५७ दशमलव ३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने, ठेकेदारमार्फत काम गर्ने श्रमिकमा लिखित सम्झौताको दर ६ दशमलव ९ प्रतिशत मात्रै रहेको तथा विचौलियामार्फत जोडिएका श्रमिकमा लिखित सम्झौताको दर शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपमहासचिव नारायणनाथ लुइँटेल ले अनौपचारिक श्रमिक क्षेत्रमा ज्यालामा ठगी भइरहेको बताए ।

एक्सनएड अन्तरराष्ट्रिय नेपाल का कार्यक्रम, नीति तथा व्यवसाय विकास प्रमुख सरोज पोखरेलले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग पर्याप्त प्रमाण जुटाउने क्षमता र पहुँच सीमित हुने भएकाले न्याय पाउन थप चुनौती रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्