२८ जेठ २०८३, बिहीबार

खाडी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएलाबीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास

जेठ २७, २०८३
काठमाडौं
खाडी संकटबीच ऊर्जा व्यापारमा भारत र भेनेजुएलाबीच सम्बन्ध थप सुदृढ बनाउने प्रयास

मध्यपूर्व (खाडी)मा चर्किएको सैन्य सङ्कटका कारण विश्वव्यापी तेल आपूर्ति प्रणाली अवरुद्ध भइरहेका बेला भारत र भेनेजुएलाले ऊर्जा क्षेत्रमा आफ्नो सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास थालेका छन् । भेनेजुएलाले भारतलाई यस क्षेत्रमा आफ्नो एक 'प्राथमिकता प्राप्त साझेदार'का रूपमा हेरेको नयाँदिल्लीले स्पष्ट पारेको छ । यसै सिलसिलामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मन्त्रीहरूको ठुलो टोलीसहित भारत भ्रमणमा आएकी छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरिन् । 

वार्तापछि आयोजित मिडिया ब्रिफिङमा भारतीय परराष्ट्र मन्त्रालयका सचिव रुद्रेन्द्र टन्डनले दुई देशबिचको छलफल मुख्य गरी ऊर्जा क्षेत्रका 'अपस्ट्रिम' (खानी उत्खनन) र 'डाउनस्ट्रिम' (प्रशोधन तथा वितरण) परियोजनाहरूमा केन्द्रित रहेको जानकारी दिए। 

रोयटर्सका अनुसार उनले भारतको आर्थिक राजधानी मुम्बई पुगेर त्यहाँका शीर्ष ऊर्जा उद्योगका नेतृत्वकर्ताहरूसँग पनि भेटघाट गरेकी छन् । 

गत मे महिनामा भारत भेनेजुएलाको कच्चा तेल आयात गर्ने विश्वकै दोस्रो ठुलो मुलुक बनेको थियो । भारतले मे महिनामा प्रतिदिन ४ लाख २७ हजार ब्यारेल तेल खरिद गरेको छ, जुन परिमाण अमेरिका पछिको सबैभन्दा बढी हो । पछिल्ला महिनाहरूमा भारतको प्रमुख व्यावसायिक घराना रिलायन्स इन्डस्ट्रिज भेनेजुएलाको कच्चा तेल खरिद गर्ने विश्वकै शीर्ष तीन ठुला कम्पनीमध्ये एकका रूपमा उभिएको छ। 'क्पलर'को तथ्याङ्कले पनि मे महिनामा भेनेजुएला भारतको चौथो ठुलो तेल आपूर्तिकर्ता देश बन्ने दिशामा रहेको देखाएको छ।

विश्वकै तेस्रो ठुलो तेल आयातकर्ता र उपभोक्ता मुलुक भारतले इरानसँगको अमेरिकी-इजरायली युद्धका कारण सिर्जित आपूर्ति अवरोधको सामना गरिरहेका बेला भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिको यो भ्रमण भएको हो । उक्त युद्धका कारण रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने 'हर्मोज जलडमरुमध्य' व्यावहारिक रूपमा पूर्णतः बन्द भएको छ, जहाँबाट दक्षिण एसियाली राष्ट्र भारतको कुल कच्चा तेल आयातको ४० प्रतिशतभन्दा बढी हिस्सा ओसारपसार हुने गर्दथ्यो ।

salt training

कमेन्ट गर्नुहोस्