
नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक महत्त्वपूर्ण तथा गौरवपूर्ण उपलब्धि हासिल भएको छ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) हालै भिसाको ग्लोबल रजिस्ट्री अफ सर्भिस प्रोभाइडर्समा आधिकारिक रूपमा सूचीकृत भएको छ।
यस उपलब्धिसँगै एससीटी नेपालबाटै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्डमार्फत हुने अनलाइन कारोबारको सुरक्षा सेवा प्रदान गर्न सक्षम भएको छ।
यसले नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित, भरपर्दो र विश्वस्तरीय डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एससीटी हाल नेपालको एकमात्र भुक्तानी प्रणाली सञ्चालक Payment Service Operator (PSO) हो । जसले भुक्तानी सुरक्षासम्बन्धी विश्वकै प्रतिष्ठित PCI-DSS तथा PCI 3DS दुवै प्रमाणपत्र प्राप्त गरेको छ। यी प्रमाणपत्रहरूले एससीटीले अन्तर्राष्ट्रिय स्तरका सुरक्षा मापदण्डहरू पूरा गरेको पुष्टि गर्छन्।
यस उपलब्धिको अर्को महत्त्वपूर्ण पक्ष भनेको अब एससीटीले 3D Secure सेवा आफ्नै नेपालस्थित डाटा सेन्टरमार्फत सञ्चालन गर्ने क्षमता विकास गरेको हो ।
यसअघि यस्ता सेवाका लागि धेरै संस्थाहरू विदेशी सेवा प्रदायकहरूमा निर्भर रहँदै आएका थिए, जसका कारण कार्डधारकसँग सम्बन्धित संवेदनशील डाटा विदेशस्थित डाटा सेन्टरहरूमा प्रशोधन हुने गरेको थियो।
एससीटीको यो सेवासँगै अब नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूको संवेदनशील प्रमाणीकरणसम्बन्धी डाटा नेपालभित्रै सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्नेछन्।
यसले डाटा सुरक्षाका साथै डाटा सार्वभौमिकता (Data Sovereignty) लाई समेत मजबुत बनाउने विश्वास गरिएको छ।
एससीटीले प्राप्त गरेको यो मान्यता नेपालका लागि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि महत्वपूर्ण उपलब्धि हो।
अब एससीटीले नेपालका बैंक तथा वित्तीय संस्थाहरूका साथै विश्वभरका भिसा सदस्य संस्थाहरूलाई समेत आफ्नो सेवा प्रदान गर्न सक्नेछ। यसले नेपाललाई केवल सेवा उपभोक्ताको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय भुक्तानी प्रविधि सेवा प्रदायकको रूपमा समेत स्थापित गर्न मद्दत गर्नेछ।
यो उपलब्धिले नेपालको डिजिटल भुक्तानी पूर्वाधार अझ सुदृढ हुँदै गएको तथा नेपाली प्रविधि कम्पनीहरू विश्वस्तरीय मापदण्ड पूरा गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम भएको स्पष्ट संकेत गरेको छ।