२४ असार २०८३, बुधबार

१.२ मिलियन युरोका गहना फेला परेपछि समस्यामा स्पेनका पूर्व प्रधानमन्त्री

जेठ ३०, २०८३
काठमाडौं
१.२ मिलियन युरोका गहना फेला परेपछि समस्यामा स्पेनका पूर्व प्रधानमन्त्री

स्पेनका पूर्व प्रधानमन्त्री जोस लुइस रोड्रिगेज जापाटेरोको निजी सेफमा करिब १.२ मिलियन युरो (करिब १७ करोड नेपाली रुपैयाँ) बराबरको बहुमूल्य गहना र लक्जरी घडीहरू फेला परेपछि उनीमाथि नयाँ कानुनी अनुसन्धान सुरु गरिएको छ।
सन् २००४ देखि २०११ सम्म स्पेनको सत्ता सम्हालेका समाजवादी नेता जापाटेरोमाथि पहिले नै 'प्लस अल्ट्रा' एयरलाइनलाई दिइएको विवादित सरकारी राहत प्रकरणमा 'अनुचित प्रभाव' प्रयोग गरेको आरोपमा अनुसन्धान भइरहेको थियो। 

सोही अनुसन्धानका क्रममा प्रहरीले उनको कार्यालयमा छापा मार्दा हिरा, नीलम र पन्ना जडित महँगा हार, चुरा र औंठीहरू बरामद गरेको हो।

स्पेनी सञ्चारमाध्यमका अनुसार ती गहनाहरू जाम्बिया र थाइल्याण्डबाट ल्याइएको देखिए पनि जापाटेरोले त्यसको भन्सार शुल्क तिरेको कुनै प्रमाण पेस गर्न सकेका छैनन्। यसकारण उनीमाथि अहिले कर छली र तस्करीको अभियोगमा थप अनुसन्धान अघि बढाइएको छ।

जापाटेरोका प्रवक्ता लुइस अरोयोले पूर्व प्रधानमन्त्रीले यसबारे अदालतमा आवश्यक स्पष्टीकरण दिने बताएका छन्। यद्यपि, उनका निकटस्थहरूले भने ती गहनाहरू पारिवारिक अंशका रूपमा प्राप्त भएको दाबी गरेका छन्। उनलाई यसै महिनाको अन्त्यतिर अदालतमा बयानका लागि बोलाइएको छ।

स्पेनको आधुनिक इतिहासमा कुनै पूर्व प्रधानमन्त्रीमाथि औपचारिक रूपमा यसरी आपराधिक अनुसन्धान सुरु भएको यो पहिलो पटक भएको बीबीसीले समाचार छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्