
भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नासु कण्डेलले जग्गा रोक्का राख्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । सोही सूचना एवं उजुरी निवेदनका आधारमा पोखराबाट खटिएको विशेष टोलीले उनलाई घुसबापतको ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा समातेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलको साथबाट सेवाग्राहीसँग लिएको ४० हजार रुपैयाँ घुस रकम र स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ । अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।