
फिफा विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक खेलमा स्विजरल्याण्डले बोस्निया-हर्जगोभिनालाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शन र वैकल्पिक खेलाडी जोहान मान्जाम्बीको दुई गोलको मद्दतले स्विजरल्याण्ड नकआउट चरण नजिक पुगेको छ ।
लस एन्जलस स्टेडियममा ७० हजारभन्दा बढी दर्शकमाझ भएको प्रतिस्पर्धाको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
पहिलो हाफमा स्विजरल्याण्डले केही राम्रा अवसरहरू सिर्जना गरे पनि बोस्नियाको रक्षापंक्तिले त्यसलाई विफल तुल्याएको थियो । विशेष गरी ड्यान न्डोएले प्रहार गरेको 'बाइसिकल किक'लाई बोस्नियाली गोलकिपर निकोला भासिल्जले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलमा निर्णायक मोड तब आयो जब ७२औं मिनेटमा २० वर्षीय जोहान मान्जाम्बी मैदान प्रवेश गरे । मैदान छिरेको २ मिनेट ४६ सेकेन्डमै आफ्नो चौथो टचमा उनले उत्कृष्ट भली गोल गर्दै स्विजरल्याण्डलाई १-० को अग्रता दिलाए । यससँगै उनी विश्वकपको इतिहासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन् ।
खेलको ८०औं मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिकले स्विजरल्याण्डका ब्रिल एम्बोलोलाई लडाएपछि सिधै रातो कार्ड खाँदै मैदान बाहिरिनु परेको थियो । १० खेलाडीमा सीमित बोस्नियाविरुद्ध स्विजरल्याण्ड थप आक्रामक देखियो ।
८४औं मिनेटमा रुबेन भेर्गासले सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए भने ९०औं मिनेटमा भेर्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ३-० पुर्याए ।
इन्जुरी समयको तेस्रो मिनेटमा बोस्नियाका एर्मिन महमिचले एक गोल फर्काउँदै टोलीलाई केही सान्त्वना दिए पनि खेलको अन्त्यतिर कप्तान ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विजरल्याण्डको ४-१ को फराकिलो जित सुनिश्चित गरे ।
स्विजरल्याण्डका प्रशिक्षक मुरात याकिनले मान्जाम्बीको तारिफ गर्दै उनलाई 'सरप्राइज प्याकेज'को संज्ञा दिएका छन् । यो जितसँगै समूह 'बी' मा स्विजरल्याण्ड ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
बोस्निया भने १ अंकका साथ तालिकाको पुछारमा छ । अब स्विजरल्याण्डले आफ्नो अन्तिम समूह खेलमा जुन २४ मा आयोजक क्यानाडाको सामना गर्नेछ भने बोस्नियाले सोही दिन कतारसँग प्रतिस्पर्धा गर्नेछ ।