०७ असार २०८३, आइतबार

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

असार ७, २०८३
काठमाडौं
सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
जारी फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकामा आइतबार बिहान भएको खेलमा इक्वेडर र कुराकाओले गोलरहित बराबरी खेलेका छन् ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' को रोमाञ्चक खेलमा जर्मनीले आइभोरी कोस्टमाथि २-१ को पुनरागमन जित दर्ता गरेको छ। 
क्यानडाको टोरन्टो स्टेडियममा आइतबार बिहान सम्पन्न यस खेलमा सब्सिच्युट खेलाडी डेनिस उन्डाभ नायक बनेपछि चार पटकको विश्व विजेता जर्मनीले प्रतियोगिताको नकआउट चरण (अन्तिम ३२) मा आफ्नो स्थान पक्का गरेको हो।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले स्वीडेनमाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ ।
 ह्युस्टन स्टेडियममा भएको समूह 'एफ' को खेलमा डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेदरल्याण्ड्सका लागि ब्रायन ब्रोबेले पहिलो हाफमा दुई गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्यादएका थिए । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 
भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
००००
रास्वपाको आइतबारदेखि सुरु हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन केन्द्रीय निर्वाचन आयोगले 'निर्वाचन आचारसंहिता २०८३' जारी गरेको छ।
००००
रास्वपाको ऐतिहासिक राष्ट्रिय महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटी बैठक समापन भएको छ ।
चितवनको भरतपुरमा शनिबार साँझ बैठक सम्पन्न भएको हो ।  बैठकको समापन गर्ने क्रममा पार्टी सभापति रवि लामिछानेले निकै भिन्न र भावनात्मक शैली अपनाएका थिए । उनले कार्यकालभर भएका राम्रा कामका लागि एक-अर्कालाई 'धन्यवाद' भन्न र कामको सिलसिलामा भएका गल्ती वा असमझदारीका लागि 'सरी' (क्षमा) माग्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे ।
००००
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया र मापदण्ड तय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको सूचना अनुसार, पार्टीको सर्वोच्च पद 'सभापति' का लागि उम्मेदवारी दिन ५१ जना समर्थक अनिवार्य गरिएको छ । 
आयोगका अनुसार सभापति पदका आकांक्षीले ५१ हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने प्रस्तावकका रूपमा एक जना र समर्थकका रूपमा ५१ जना प्रतिनिधि रहनुपर्नेछ ।
००००
काठमाडौंको बालकुमारी क्षेत्रबाट प्रहरीले ३ सय ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्ने प्रयास गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार काठमाडौं उपत्यकामा लागूऔषध आपूर्ति गर्ने गिरोहको निगरानीका क्रममा शनिबार काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलनजिक भारतबाट ल्याइएको खैरो हेरोइन बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा यही असार ५ र ६ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय महाधिवेशन २०८३ मंसिर २६, २७ र २८ गते काठमाडौं गर्ने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्