
नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू एक दिन रास्वपाभन्दा अग्लो भएर देखाउने बताएका छन् ।
राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि एक-अर्कालाई कमजोर बनाएर अघि बढ्ने सोच नरहेको उनले बताए । ‘हामी प्रतिस्पर्धी हौं, दुस्मन होइनौं,’ रास्वपा महाधिवेशन उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै उनले भने, ‘हामी अग्लो हुन चाहन्छौं, तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। तर, तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं, बन्छौं पनि, तपाईंहरूको खुट्टा काटेर होइन।’
थापाले आफ्नो पार्टीलाई बलियो बनाउन अरूलाई होच्याउनेभन्दा पनि आफ्नै कमजोरी सुधार्न आवश्यक रहेको धारणा राखे। ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं,’ उनले भने।
उनले आवश्यक परेका बेला रास्वपामाथि प्रश्न उठाउन पनि पछि नहट्ने र राम्रो कामको प्रशंसा गर्न पनि तयार रहने बताए । ‘जहाँ प्रश्न उठाउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौं। जहाँ थपडी बजाउनुपर्ने हो, त्यहाँ थपडी बजाउँछौं,’ थापाले भने ।