०९ असार २०८३, मंगलबार

कोटेश्वर र जडिबुटीमा यात्रुलाई सास्ती दिने १० जना पक्राउ

असार ८, २०८३
काठमाडौं
कोटेश्वर र जडिबुटीमा यात्रुलाई सास्ती दिने १० जना पक्राउ
फाइल फोटो

काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

त्यस्तै, सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अमर्यादित कार्य गरिरहेकाले उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रवक्ता सुवेदीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्