
भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा आएका दुईवटा शक्तिशाली भूकम्पपछि देश अहिले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा कठिन र पीडादायी अवस्थाबाट गुज्रिरहेको छ।
सयौं घरहरू भग्नावशेषमा परिणत भएका छन् भने उद्धारका लागि भइरहेका प्रयासहरूका बीच मृत्यु र बेपत्ता हुनेहरूको संख्याले देशभर शोक र त्रासको वातावरण सिर्जना गरेको छ।
काराकासका सडकहरूमा आफ्ना बाँकी रहेका सरसामान लिएर रोइरहेका मानिसहरूको दृश्य हृदयविदारक छ। धेरै परिवारहरू अहिले खुला आकाशमुनि रात बिताउन बाध्य छन्। 'म ५० वर्षको भएँ, अब कहाँबाट फेरि जीवन सुरु गरूँ, मलाई थाहा छैन,' गहभरि आँसु पार्दै पूर्व प्रहरी अधिकारी जान कार्लोस रोआ गार्सियाले भने ।
सरकारी निकायबाट अहिलेसम्म कुनै सम्पर्क वा सहयोग नपाएकोमा उनी निराश देखिन्छन्। सरकारको फितलो उद्धार र राहत प्रयासलाई लिएर जनतामा चरम आक्रोश देखिएको बीबीसीको समाचारमा उल्लेख छ ।
चाकाओ क्षेत्रमा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेज निरीक्षणका लागि पुग्दा स्थानीय बासिन्दाहरूले त्रासदीका बीच चुनावी अभियान नगर्न भन्दै चर्को विरोध गरेका थिए। संगीतकार जाइरा क्यास्ट्रोले भनिन्, 'हामीले सरकारको आशा मारिसक्यौं, यो अस्तित्वमै छैन जस्तो लाग्छ। अहिले भेनेजुएलाका जनता आफैंले एकअर्कालाई सहयोग गरिरहेका छन्।'
भूकम्पको केन्द्रविन्दु नजिकै रहेको तटीय सहर ला गुएराको अवस्था झन् भयावह छ। त्यहाँ १०० भन्दा बढी भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । उद्धार टोलीहरूले भग्नावशेषमा पुरिएका मानिसहरूलाई बचाउन रातभर मेसिनहरूको प्रयोग गरिरहेका छन्।
सामाजिक सञ्जालमा भग्नावशेषबाट एउटा नवजात शिशुको सफल उद्धार गरिएको भिडियोले केही आशा जगाए पनि समय घर्कँदै जाँदा बेपत्ता भएकाहरूको जीवितै फेला पर्ने सम्भावना न्यून हुँदै गएको छ।
दशकौंदेखि बजेट अभाव र राजनीतिक संकट झेलिरहेको भेनेजुएलाको स्वास्थ्य प्रणाली अहिले पूर्ण रूपमा थलिएको छ। अस्पतालहरू घाइतेले भरिएका छन् भने डाक्टर र नर्सहरू सीमित स्रोत साधनका बीच अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेका छन्। अस्पतालको शय्याबाट बाँचेकाहरूले सुनाएका कथाहरू निकै भयावह छन्— कसैले आफ्ना सबै परिवार गुमाएका छन् भने कसैको घरको नामनिसान बाँकी छैन।
भूकम्पपछिको उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने सुरुवाती ४८ घण्टाको समय बितिसकेको छ। वर्षौंदेखि आर्थिक र राजनीतिक संकटसँग जुधिरहेको भेनेजुएलाका लागि यो प्राकृतिक विपत्ति आधुनिक इतिहासकै सबैभन्दा ठूलो मानवीय चुनौती बनेर उभिएको समाचारमा उल्लेख छ ।