१८ असार २०८३, बिहीबार
मोबाइल र रिसइबीले निम्त्याएको क्रूर घटना

बुबा र भिनाजुलाई फसाउन निर्दोष छिमेकीको हत्या !

असार १८, २०८३
सर्लाही
बुबा र भिनाजुलाई फसाउन निर्दोष छिमेकीको हत्या !
  • सत्यप्रकाश यादव

सर्लाहीको बसवरिया गाउँपालिका वडा नम्बर १ मानपुरमा गत असार ७ गते मध्यराति ५३ वर्षीय होसनारायण राय यादव हत्याकाण्डबारे नयाँ तथ्य बाहिरिएको छ । घटनाको ११ दिनपछि बिहीवार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरी घटनाको थप विवरण सार्वजनिक गरेको हो ।

सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार आफ्नै बुबा र भिनाजुलाई कानुनी फन्दामा फसाउने नियतले सन्तोषकुमार रायले छिमेकीको क्रूर हत्या गरेको प्रारम्भिक अनुसन्धान खुलेको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछमा रायले आफ्नो अपराध स्वीकार गर्दै हत्याको मुख्य कारण पारिवारिक रिसइबी रहेको बयान दिएका छन् । घटनाको अघिल्लो दिन (असार ६ गते) घरमा मोबाइलको विषयलाई लिएर सन्तोषको आफ्नै बुबा श्यामबाबु रायसँग झगडा भएको थियो । त्यसैगरी बुबा र भिनाजु रामविलास रायले आफूलाई बेलाबेलामा पैसा नदिने गरेको र ‘सुधार केन्द्र’ पठाइदिने धम्की दिने गरेको उनले बयान दिएका छन् ।

सोही रिसको बदला लिन र आफ्नै बुबा तथा भिनाजुलाई हत्याको मुद्दामा फसाएर जेल कोच्ने योजनासहित उनले निर्दोष छिमेकी होसनारायण रायको हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर मोटरसाइकल असार ८ गते नवलपुर–मलंगवा सडकखण्डको एक निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानले अभियुक्त सन्तोषले घटनाको दिन छिमेकी हरिन्द्रराम यादवको मोटरसाइकल आफैँले चोरी गरी हत्या गर्न गएको र वारदातपश्चात् त्यहाँ छाडेर फरार भएको खुलेको छ ।

हत्यामा प्रयोग गरिएको घरेलु हतियार (हँसिया) भने उनले भाग्ने क्रममा बरहथवा नगरपालिका वडा नम्बर १३ स्थित बिनमा टोलको सडक छेउको खेतमा फ्याकेको बयान दिएका छन् । प्रहरी हत्यामा प्रयोग भएको हँसिया अहिलेसम्म भेट्टाएको छैन ।

घटनापछि लगातार स्थान बदल्दै लुकिछिपी बसिरहेका सन्तोषलाई खोज्न प्रहरीले स्थानीय गाउँटोल र बजारहरूमा व्यापक सञ्जाल परिचालन गरेको थियो । असार १६ गते दिउँसो ३ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ७, बरहथवा बजार नजिक लुकिछिपी बसिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

null

पक्राउ परेका अभियुक्त सन्तोषविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) र चोरी मुद्दामा कानुनी कारबाही अगाडि बढाइएको रवीन्द्रनाथ एसपी पौडेले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सन्तोषविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद अनुमति लिएको छ ।

गत असार ७ गते बिहान करिब एक बजेर ४५ मिनेट जाँदा आफ्नै घरमा सुतिरहेका रायमाथि सन्तोषले हँसिया प्रहार गरी हत्या गरेका थिए । इलाका प्रहरी कार्यालय मानपुर र बरहथवाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि बरहथवा नगर अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा रायको मृत्यु भएको थियो ।

घटनामा संलग्न भनिएका सन्तोषको खोजी गर्न एसपी पौडेलको कमाण्डमा आईटी सहितको विशेष टोली र मधेश प्रदेश प्रहरी कार्यालयको तालिमप्राप्त कुकुरसहितको टोली खटिएको थियो ।

प्रहरीको प्राविधिक अनुसन्धान, सीसीटीभी फुटेज र तालिमप्राप्त कुकुरको प्रयोग गरी हत्याको रहस्य उजागर भएको हो । पक्राउ परेका सन्तोष यसअघि खराब आचरणका कारणसुधार केन्द्रमा बसिसकेको तथ्य खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्