
सरकारले उपलब्ध गराउँदै आएको अनुदान रकम नपाएको भन्दै कैलाली र बर्दियाका उखु किसानहरू काठमाडौं आएका छन् । किसानहरूको एक प्रतिनिधिमण्डलले सोमबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी आफूहरूले भोगिरहेका समस्या, अनुदान वितरणमा भएको ढिलाइ तथा उखु खेतीको भविष्यबारे गम्भीर बन्न आग्रह गरेको हो ।
भेटमा किसानले सरकारले घोषणा गरेको उत्पादनमा आधारित अनुदान समयमै नपाउँदा आफूहरू आर्थिक संकटमा परेको बताए । उखु खेतीमा ठूलो लगानी गरे पनि समयमै अनुदान नपाउँदा ऋणको भार बढ्दै गएको र अनुदानमा ढिलासुस्ती गर्दा धेरै उखु उत्पादक किसानहरू चिन्तित भएका छन ।
नेपालमा हाल संचालनमा रहेका १४ वटा सुगर मिलमध्ये १३ वटा सुगर मिलको अनुदान रकम भुक्तानी भए पनि राजापुर सुगर एण्ड केमिकल्स ईण्डष्ट्रिज प्रा.लि.सँग जोडिएका किसान अनुदान पाउनबाट बन्चित भएको अगुवा कृषक धनसिंह साउँदले जानकारी दिए ।
राजापुर सुगर मीलमा ७ सय ७९ कृषकले उत्पादन गरेको ४ लाख ८ हजार ४ सय ३८ दशमलव २९ क्वीन्टल उखु क्रसिंङ गरिएको थियो । उक्त परिमाण बराबरको अनुदान बापत पाउनु पर्ने २ करोड ८५ लाख ९० हजार ६ सय ८० रुपैया भुक्तानी हुन सकेको छैन ।
पाउनु पर्ने अनुदान रकमबारे सम्पूर्ण जानकारी गएको चैत २४ गते नै कृषि मन्त्रालयमा पठाइसकेको भएता पनि किसानले भुक्तान नपाएपछि किसानहरू निराश भएका छन् ।
देशभरका उखु किसानले सहजै अनुदान पाउँदा बर्दिया र कैलालीका किसानलाई अनुदानबाट वञ्चित गर्नुले आफूहरू राज्यबाटै ठगिएको किसानहरूको गुनासो छ । किसान प्रतिनिधिहरूले बाँकी रहेको अनुदान रकम तत्काल उपलब्ध गराउन, अनुदान वितरण प्रक्रियालाई पारदर्शी र सरल बनाउन, उखु खेतीलाई प्रोत्साहन गर्ने दीर्घकालीन नीति ल्याउन तथा उत्पादन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।
किसान प्रतिनिधिमण्डलसँगको भेटमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानका मागप्रति मन्त्रालय गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले बाँकी रहेका अनुदानसम्बन्धी विषयहरूको तथ्यगत अध्ययन गरी कानुनी तथा प्रशासनिक प्रक्रिया अनुसार यथाशीघ्र समाधानको प्रयास गरिने बताइन् । मन्त्री चौधरीले उखु किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको आश्वासनसमेत दिइन् ।
भेटपछि किसान प्रतिनिधिहरूले सरकारबाट सकारात्मक आश्वासन प्राप्त भएको प्रतिक्रिया दिएका छन् । पश्चिम नेपालको प्रमुख नगदे बालीका रूपमा रहेको उखु खेती विशेषगरी कैलाली र बर्दियाका हजारौं किसानको आयआर्जनको मुख्य स्रोत हो । तर अनुदान वितरणमा ढिलाइ हुदा उखु खेती संकटमा पर्न सक्ने किसानहरूको गुनासो छ । उनीहरूले उखु उत्पादन बापत पाउनु पर्ने अनुदान रकम यथाशीघ्र भुक्तानी नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।