
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जना दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई सोमबार दोषी ठहर गरेको हो ।
उनीहरूलाई ६ महिना कैद र ५० हजार रूपैयाँका दरले जरिवाना ठहर भएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
यही प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाले भने सफाइ पाएका छन् ।
कसलाई कति सजाय?
दिगम्बर झा (तत्कालीन अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण): ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ । यसका साथै उनी तत्कालीन समयमा सार्वजनिक ओहोदा (प्राधिकरणको अध्यक्ष) मा बहाल रहेको हुँदा थप ६ महिना कैद सजाय तोकिएको छ । यसरी झालाई कूल १ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना हुने फैसला भएको छ ।
धनराज ज्ञवाली (तत्कालीन सदस्य, दूरसञ्चार प्राधिकरण बोर्ड तथा तत्कालीन कानून सहसचिव): कसूरदार ठहर गर्दै ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।
टीकाप्रसाद उप्रेती (तत्कालीन सदस्य, दूरसञ्चार प्राधिकरण बोर्ड): कसूरदार ठहर गर्दै ६ महिना कैद र ५० हजार रूपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

