![सरकारको सदाचार नीति : क-कसले कस्तो आचरण पालना गर्ने ? [सूचीहसित]](https://lktcdn2.prixacdn.net/media/PMO_PM_Office_DwpdLYori1.jpg)
सरकारले भ्रष्टाचार, अनियमितता र नैतिक विचलनलाई नियन्त्रण गर्दै सुशासन कायम गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय सदाचार नीति, २०८३’ जारी गरेको छ ।
यही असार १८ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको यो नीतिले ‘सदाचारयुक्त समाजमार्फत सुशासन र समृद्धि’को मूल लक्ष्य राखेको छ ।
विगतका छरिएर रहेका र खण्डीकृत प्रयासलाई एकीकृत गर्दै राज्यका सबै अंग, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी क्षेत्रसम्म सदाचारको संस्कृति विकास गर्न यो नीति ल्याइएको सरकारले जनाएको छ ।
सदाचार नीतिको परिच्छेद २ अन्तर्गत समाजका विभिन्न क्षेत्र र निकायहरूले पालना गर्नुपर्ने आचरण तथा भूमिकालाई विस्तृत रूपमा उल्लेख गरिएको छ ।
सदाचार नीतिमा नेपाल राज्यभित्र बस्ने आमनागरिकदेखि राज्य सञ्चालक, व्यवसायी, सञ्चारकर्मी र विदेशी नागरिक समेतले पालना गर्नुपर्ने विषय उल्लेख छन् ।
आम नागरिकले पालना गर्नुपर्ने आचरण (नागरिक कर्तव्य)
• कानूनको सम्मान: संविधान र प्रचलित कानूनको पूर्ण पालना गर्ने तथा सामाजिक जीवनमा साझा हितका लागि काम गर्ने ।
• नागरिक दायित्व: चुनावमा मतदान गर्ने, स्वयंसेवा गर्ने र समाज सुधारका गतिविधिमा सक्रिय सहभागी हुने ।
• नैतिक व्यवहार: आफ्नो काम र व्यवहारले अरूलाई पर्ने नैतिक प्रभावबारे सचेत रहने, समाजमा निष्पक्षता र समानता कायम राख्न मद्दत गर्ने ।
• पारिवारिक र सामाजिक दायित्व: परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्य सधैं निष्ठापूर्वक पूरा गर्ने ।
• कला र संस्कृतिको रक्षा: नेपालको कला, संस्कृति, खेलकुद र वैज्ञानिक खोजमा संलग्न भई राष्ट्रिय गौरव बढाउन योगदान गर्ने ।
नेता, जनप्रतिनिधि र विधायिकाका सदस्यहरूले पालना गर्नुपर्ने नियम
• शपथको इमानदार पालना: पदभार ग्रहण गर्दा लिएको शपथको अक्षरसः पालना गर्ने ।
• स्वार्थ बाझिएमा अलग बस्ने: आफ्नो व्यक्तिगत वा पारिवारिक स्वार्थ जोडिएको विषयमा निर्णय प्रक्रियामा सहभागी नहुने । जस्तै: आफू सम्बद्ध व्यवसायसँग सम्बन्धित संसदीय समिति वा बैठकमा भाग नलिने ।
• सरकारी सम्पत्तिको संरक्षण: सरकारी साधन, स्रोत र सम्पत्तिको अधिकतम र इमानदार सदुपयोग गर्ने, व्यक्तिगत फाइदाका लागि पदीय अधिकार दुरुपयोग नगर्ने ।
• सदाचारी व्यवहार: मातहतका कर्मचारी र सर्वसाधारणसँग सधैं शिष्ट र मर्यादित व्यवहार गर्ने ।
• पारदर्शिता र लिखित खुलासा: कुनै पनि प्रकारको स्वार्थ बाझिने अवस्था आएमा त्यसको लिखित जानकारी अग्रिम रूपमा गराएर सो विषयबाट अलग रहने ।
राजनीतिक दलहरूले पालना गर्नुपर्ने नियम
• मर्यादित प्रचार र निर्वाचन: मतदाताको सम्मान गर्ने, चुनावमा सभ्य र विधिपूर्ण प्रचारप्रसार गर्ने तथा फरक विचार र सिद्धान्तको सम्मान गर्ने ।
• हिंसा र अपराधमा रोक: आफ्ना कार्यकर्ता वा समर्थकहरूलाई हिंसात्मक, कानून विपरीत वा आपराधिक गतिविधिमा संलग्न हुन नदिने ।
• आर्थिक पारदर्शिता: दलको आम्दानी र खर्चको स्पष्ट हिसाब राख्ने र चन्दा संकलन तथा आर्थिक कारोबारलाई पूर्ण पारदर्शी बनाउने ।
• दलभित्र आचारसंहिता: आफ्ना प्रतिनिधि र कार्यकर्ताको आचरण अनुगमन गर्न दलभित्रै आन्तरिक सदाचार र अनुशासन संयन्त्र निर्माण गर्ने ।
गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
• राजनीतिक तटस्थता: कुनै पनि राजनीतिक दलको पक्ष वा विपक्षमा नलागी राजनीतिक रूपमा तटस्थ रहने र सामाजिक सद्भाव कायम राख्ने ।
• पारदर्शिता र निष्पक्षता: सेवा प्रदायकको हैसियतमा काम गर्दा सधैं निष्पक्ष, जवाफदेही र पारदर्शी रहने ।
• श्रोत साधनको सही सदुपयोग: प्राप्त भएको वैदेशिक वा आन्तरिक अनुदान र सहायताको इमानदार सदुपयोग गर्ने र लेखापरीक्षण (अडिट) लाई पारदर्शी राख्ने ।
• राष्ट्रिय हित र कानूनको पालना : विदेशी संस्थाहरूले नेपालको संविधान, कानून र संस्कृतिको पूर्ण सम्मान गर्नुपर्नेछ । नेपाल विरुद्ध घृणा वा भ्रम फैलाउने कुनै पनि गतिविधि गर्न पाइने छैन ।
निजी क्षेत्र र व्यवसायीहरूले पालना गर्नुपर्ने नियम
• स्वच्छ र नैतिक व्यवसाय: कालोबजारी, मिलेमतो (कार्टेलिङ), कृत्रिम अभाव र अस्वाभाविक नाफा कमाउने जस्ता अनैतिक गतिविधि नगर्ने ।
• उपभोक्ताको हित रक्षा: उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा न्यायोचित मूल्यमा उपलब्ध गराउने ।
• श्रमिकको अधिकार सुनिश्चितता: श्रमिकहरूको अधिकार, पारिश्रमिक र कार्यस्थलको सुरक्षा सुनिश्चित गर्ने ।
• वातावरण संरक्षण: उद्योग तथा व्यवसायबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापन गरी वातावरणीय क्षति कम गर्ने ।
• सामाजिक उत्तरदायित्त्व : संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत छुट्याइने बजेटलाई सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा मात्र खर्च गर्ने ।
सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सूचना प्रविधि क्षेत्र
• जिम्मेवार पत्रकारिता: निष्पक्ष, सत्य र तथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्ने, गलत समाचार पोष्ट भएमा तत्कालै सच्याउने ।
• गोपनीयताको रक्षा: कसैको व्यक्तिगत गोपनीयताको हनन् हुने गरी सूचना वा सामग्री प्रकाशन नगर्ने ।
• चरित्रहत्या र घृणा फैलाउन नहुने: सामाजिक सञ्जालमा कसैको अपमान गर्ने, गालीगलौज गर्ने, चरित्रहत्या गर्ने वा समाजमा घृणा र अफवाह फैलाउने सामग्री पोष्ट नगर्ने ।
• स्रोतको विश्वसनीयता: समाचारको स्रोत विश्वसनीय भएको पुष्टि गरेर मात्र सम्प्रेषण गर्ने र प्रायोजित समाचारलाई निरुत्साहित गर्ने ।
कूटनीतिक क्षेत्रका पदाधिकारीले पालना गर्नुपर्ने नियम
• मन्त्रालयमार्फत् मात्र भेटघाट: विदेशी नियोग वा अधिकारीहरूसँग भेटघाट वा पत्राचार गर्दा परराष्ट्र मन्त्रालयमार्फत् अनिवार्य रूपमा स्वीकृति लिएर मात्र गर्ने ।
• गोपनीयता कायम राख्ने: राज्यका संवेदनशील र गोप्य सूचना सधैं सुरक्षित राख्ने ।
• विदेशी भ्रमणको मर्यादा: विदेश भ्रमण गर्दा मुलुकको प्रतिष्ठा बढाउने गरी शिष्ट व्यवहार गर्ने र भ्रमणलाई छोटो तथा किफायती बनाउने ।
शैक्षिक र प्राज्ञिक क्षेत्र (शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ता)
• बौद्धिक चोरी (Plagiarism)मा प्रतिबन्ध: कुनै पनि शोध वा अनुसन्धान गर्दा अरूको बौद्धिक सम्पत्ति चोर्न पाइने छैन ।
• भेदभावरहित वातावरण: जात, धर्म, लिङ्ग वा आस्थाका आधारमा शैक्षिक संस्थाभित्र कुनै पनि प्रकारको भेदभाव नगर्ने र मर्यादित सिकाइ वातावरण बनाउने ।
• उपकरणको सही प्रयोग: प्रयोगशाला र अनुसन्धान केन्द्रलाई केवल शैक्षिक र प्राज्ञिक कार्यमा मात्र उपयोग गर्ने ।
वित्तीय क्षेत्र (बैंक, वित्तीय संस्था र सहकारी)
• सम्पत्ति शुद्धीकरणमा रोक: अवैध सम्पत्ति शुद्धीकरण गर्ने प्रयासलाई रोक्न कडा उपाय अवलम्बन गर्ने ।
• सेवाग्राहीको गोपनीयता: सेवाग्राहीको आर्थिक विवरण र व्यक्तिगत सूचना सुरक्षित राख्ने ।
• पारदर्शी कारोबार: वित्तीय कारोबारमा ब्याजदर, सेवा शुल्क र अन्य सर्त पूर्ण रूपमा पारदर्शी राख्ने र मिलेमतोमा कृत्रिम कारोबार नगर्ने ।
धार्मिक तथा सामाजिक संघसंस्था र विदेशी नागरिक
• धार्मिक सहिष्णुता: सबै धर्म र विश्वासप्रति सम्मान जनाउने सहिष्णु वातावरण निर्माण गर्ने ।
• कुप्रथाविरुद्धको अभियान: अन्धविश्वास, छुवाछुत, बोक्सी प्रथाजस्ता सामाजिक शोषण र कुप्रथा उन्मूलन गर्न भूमिका खेल्ने ।
• विदेशी नागरिकको दायित्व: नेपालमा बस्ने विदेशी नागरिकले नेपालको कानून, संस्कृति र सामाजिक मूल्यको सम्मान गर्नुपर्नेछ र नेपालको आन्तरिक राजनीतिमा कुनै पनि प्रकारको हस्तक्षेप वा चलखेल गर्न पाउने छैनन् ।
पढ्नुहोस् यो पनि-
सरकारको 'राष्ट्रिय सदाचार नीति: नेता, कर्मचारी मात्र होइन, नागरिक पनि निगरानीमा!