२७ असार २०८३, शनिबार

पेनाल्टी मिसको भर्पाई गर्दै एम्बाप्पेको कीर्तिमानी गोल

असार २६, २०८३
काठमाडौं
पेनाल्टी मिसको भर्पाई गर्दै एम्बाप्पेको कीर्तिमानी गोल

स्टार स्ट्राइकर किलियन एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी मिस गरे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जारी विश्वकपमा आफ्नो आठौँ गोल पूरा गरेका छन्। उनको सानदार प्रदर्शनको मद्दतले फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

जितका बाबजुद फ्रान्सेली टोलीका लागि खेलको ७७औँ मिनेटमा एम्बाप्पे चोटिल हुँदै मैदानबाट बाहिरिनु चिन्ताको विषय बनेको थियो। यद्यपि, खेल सकिएपछि टोलीसँग खुसीयाली मनाउने क्रममा उनी पूर्ण रूपमा सामान्य देखिएका थिए र उनले प्रशंसकहरूलाई आफ्नो चोट सामान्य रहेको भन्दै आश्वस्त पारेका छन्।

खेलको २८औँ मिनेटमा मोरक्कन डिफेन्डर नुसैर माजराउईले डी–बक्सभित्र फल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्रीको लामो समीक्षा र अलमलका कारण आफ्नो ध्यान केन्द्रित गर्न नसकेको एम्बाप्पेले स्वीकार गरे। उनको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बुनुले आफ्नो देब्रेतिर डाइभ हान्दै उत्कृष्ट बचाउ गरे।

तर, एम्बाप्पेले खेलको ६०औँ मिनेटमा डिफेन्डरहरूलाई छक्याउँदै डिपिङ एरियाबाट एक शक्तिशाली प्रहारमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। यो गोलसँगै उनले विश्वकप इतिहासमा आफ्नो २०औँ खेलमा २०औँ गोल पूरा गरे। यस संस्करणमा उनको यो आठौँ गोल हो, जसका कारण उनी अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। असिस्ट सङ्ख्या बढी भएकाले गोल्डेन बुटको दौडमा एम्बाप्पे शीर्ष स्थानमा उक्लिएका हुन् । 

यो गोलको ६ मिनेटपछि नै अर्थात् ६६औँ मिनेटमा ओस्मान डेम्बेलेले एम्बाप्पेकै पास (असिस्ट) मा गोल गर्दै दुई पटकको विश्वविजेता फ्रान्सको जित निश्चित गरे। 

आफ्नो २०औँ विश्वकप गोल पूरा गरेसँगै एम्बाप्पे अब विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता लियोनेल मेसीभन्दा मात्र १ गोलले पछि छन्। मेसीले ६ वटा विश्वकपका ३१ खेलमा २१ गोल गर्दै जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्ड तोडेका थिए।

यस विश्वकपको गोल्डेन बुटको दौड निकै रोमान्चक बनेको छ। एम्बाप्पे र मेसी दुवैको समान ८ गोल छ भने नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड ७ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन्।

यो फ्रान्सेली टोली हालसम्मकै सबैभन्दा बलियो हो कि होइन भन्ने प्रश्नमा एम्बाप्पेले यो टोलीमा अहिलेका लागि सबैभन्दा बढी सम्भावना रहेको बताए। तर उनले थपे, 'मेरो विचारमा सबैभन्दा बलियो टोली त्यही हो जसले ट्रफी जित्छ। अहिले मेरो छेउमा विश्वकपको ट्रफी छैन, त्यसैले अहिले नै हामी सबैभन्दा बलियो हौँ भन्न मिल्दैन। शान्त हुने एउटै उपाय छ, त्यो हो जित्नु। जबसम्म हामी उपाधि जित्दैनौँ, हामी रोकिने छैनौँ। अगाडिको यात्रा अझ कठिन छ, तर हामी जुनसुकै चुनौतीको सामना गर्न तयार छौँ।'

फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन वा बेल्जियमबिच हुने क्वार्टरफाइनल खेलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्