
कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित श्री महेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले आइतबार संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
उक्त विद्यालय भारत सरकारको करिब १.९ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने भारतीय दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो उच्च प्रभाव सामुदायिक विकास परियोजना कञ्चनपुरको भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशी तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । नयाँ पूर्वाधारले भीमदत्त नगरपालिकाका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने उनीहरूको विश्वास थियो ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।

