
नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सिसिटिभी फुटेजका आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ।
अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सिसिटिभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्।
अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
पटेलको मृत्युपछि अस्पताल प्रशासन र पीडित पक्षबीच संवाद तथा छलफल भइरहेको अवस्थामा केही अराजक व्यक्तिले अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नुका साथै चिकित्सकमाथि आक्रमण गरेपछि सिर्जना भएको घटनाबारे छानबिन गरी कारबाही गर्नुपर्ने माग गरिएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण हुनुका साथै आकस्मिक विभागमा कार्यरत डा. रामलाई मरणासन्न हुने गरी कुटपिट गरिएको जनाउँदै हाल उनको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।
उक्त घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा भयभीत भई सेवा प्रवाह गर्न सक्षम नरहेकाले अस्पतालका सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार घण्टाघरमा प्रदर्शन पनि गरेका छन्।