१२ साउन २०८३, मंगलबार
सामूहिक बलात्कार प्रकरण

जिल्ला र उच्चले सफाइ दिएका सामूहिक बलात्कारका अभियुक्त सर्वोच्चद्वारा दोषी ठहर

लापरबाहीपूर्ण स्वास्थ्य परीक्षण गर्ने चिकित्सकमाथि ‘विशेष न्यायिक टिप्पणी’
साउन ११, २०८३
काठमाडौं
जिल्ला र उच्चले सफाइ दिएका सामूहिक बलात्कारका अभियुक्त सर्वोच्चद्वारा दोषी ठहर

सामूहिक बलात्कार सम्बन्धी गम्भीर फौजदारी मुद्दामा सर्वोच्च अदालतले एक महत्त्वपूर्ण फैसला सुनाउँदै तल्लो अदालतबाट सफाइ पाएका मुख्य चार जना प्रतिवादीलाई दोषी ठहर गरेको छ ।
 
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले  २०८२ साल असार १० गते गरेको उक्त फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो ।

यो फैसलामा पीडितको प्रतिकूल बकपत्र ‘होस्टाइल बयान’का बाबजुद बलिया भौतिक, वैज्ञानिक र परिस्थितिजन्य प्रमाणका आधारमा अभियुक्तलाई सजाय सुनाइएको छ । 

यसका साथै, घटनाका बखत पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूले देखाएको गम्भीर लापरबाहीप्रति सर्वोच्च अदालतले ‘विशेष न्यायिक टिप्पणी’ समेत जारी गरेको छ ।

घटनाको पृष्ठभूमि

यो घटना २०७३ साल माघ १० गते राति करिब ८ बजेको समयमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर १ मा घटेको थियो । १९ वर्षीया पीडित युवती (सांकेतिक नाम: विराटनगर ‘ठ’) दिउँसो आफ्नो चिनजानका सुजित चौधरीलाई भेट्न गएकी थिइन् । 

साँझ घर फर्कने क्रममा सुजित चौधरी र रविन कामतले उनलाई मोटरसाइकलमा लिफ्ट दिने बहानामा चढाएका थिए । तर, उनीहरूले पीडितलाई विराटनगर नलगी कटहरीस्थित एक माछा पोखरीको डिलमा रहेको फलामको खाटमा पुर्‍याए ।

त्यस स्थानमा प्रकाश मण्डल, अजय पासवान, रविन कुमार मण्डल, शिवराम मण्डल र अन्य व्यक्तिहरू जम्मा भए । उनीहरूले पीडितलाई जबर्जस्ती नियन्त्रणमा लिएर, डर धम्की देखाइ कपडा खोलेर पालैपालो सामूहिक रूपमा जबर्जस्ती करणी गरेका थिए । 

जबर्जस्ती करणीपछि पीडित युवतीलाई नग्न र बेहोस अवस्थामा छाडेर उनीहरू फरार भएका थिए । भोलिपल्ट बिहान प्रहरीले पीडितलाई गम्भीर र अचेत अवस्थामा फेला पारी उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको थियो भने घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएको थियो । 

घटनास्थलबाट कन्डमका खोल, प्रयोग गरिएका कन्डम, पीडितका कपडा तथा प्रतिवादीहरूको परिचयपत्र समेत बरामद भएका थिए ।

शुरू अदालतको फैसला के भयो ?

यस मुद्दामा शुरू तहको मोरङ जिल्ला अदालत र पुनरावेदन तहको उच्च अदालत विराटनगर दुवैले प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेका थिए ।

मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासले २०७४ जेठ ७ गते सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।

त्यसपछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमराज कार्की र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०७५ चैत ५ गते मोरङ जिल्ला अदालतको फैसलालाई नै सदर गर्दै प्रतिवादीहरूलाई सफाइ दिने निर्णय गरेको थियो ।

अदालतमा बकपत्र गर्ने क्रममा पीडित युवती आफ्नो पूर्ववर्ती बयानबाट विचलित भई होस्टाइल बन्न पुगेकी थिइन् । उनले सुजित चौधरी आफ्नो प्रेमी भएको र आफूहरू स्वेच्छाले त्यहाँ गएको तथा कसैले पनि जबर्जस्ती नगरेको भनी बयान परिवर्तन गरेकी थिइन् । जिल्ला र उच्च अदालतले पीडितको यही बकपत्रलाई मुख्य आधार मान्दै प्रत्यक्ष प्रमाणको अभाव देखाएर प्रतिवादीहरूलाई सफाइ दिएका थिए ।

उच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको जिकिर गर्दै सरकार पक्षले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो । सरकारी वकिल र वादी पक्षले पीडित अचेत र नग्न अवस्थामा फेला परेको र घटनास्थलबाट बरामद भएका कन्डम, मोबाइल तथा प्रतिवादीहरूको शारीरिक परीक्षणमा देखिएको चोटपटक एवं वीर्यको उपस्थितिले स्पष्ट रूपमा अपराध प्रमाणित हुने दाबी गरेको थियो ।

पीडितले पछि प्रभाव वा दबाबमा परेर अदालतमा प्रतिकूल बयान दिएको भए तापनि परिस्थितिजन्य प्रमाणहरूको बलियो कडी रहेकाले प्रतिवादीहरूलाई अभियोगपत्रको मागदाबी बमोजिम हदैसम्मको सजाय र पीडितलाई उचित क्षतिपूर्ति दिलाउनु पर्ने सरकार पक्षको माग थियो ।

सर्वोच्च अदालतको फैसला: के सदर, के उल्टियो?

सर्वोच्च अदालतले मिसिल संलग्न वैज्ञानिक र भौतिक प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दै उच्च अदालतको फैसला आंशिक रूपमा उल्ट्याएको छ ।

सर्वोच्च अदालतले प्रतिवादीहरू अजय पासवान (मन्त्री), सुजित चौधरी (छोटु), राजेश कामत (राजा), र रबिन कामत (करिया) लाई सामूहिक जबर्जस्ती करणीको कसुरमा दोषी ठहर गरेको छ । उनीहरूलाई जनही ९ वर्ष कैद सजाय तोकिएको छ ।

अन्य चार प्रतिवादीहरू प्रकाश मण्डल, रविन कुमार मण्डल (मुन्ना), अविनाश कामत (बब्लु) र शिवराम मण्डलको हकमा भने शंकारहित रूपमा कसुर पुष्टि हुने परिस्थितिजन्य वा भौतिक प्रमाण नभेटिएकाले शुरू र उच्च अदालतले उनीहरूलाई दिएको सफाइलाई सर्वोच्चले सदर गरेको छ ।

सर्वोच्च अदालतले पीडितको राहत र सामाजिक पुनःस्थापनालाई ध्यानमा राख्दै दोषी ठहर भएका चारै जना प्रतिवादीहरूबाट जनही १ लाख रूपैयाँका दरले ४ लाख रूपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषबाट ६ लाख रूपैयाँ गरी कूल १० लाख रूपैयाँ क्षतिपूर्ति पीडितलाई तत्काल उपलब्ध गराउन आदेश दिएको छ ।

सर्वोच्च अदालतको विशेष न्यायिक टिप्पणी 

यो फैसलामा सर्वोच्च अदालतले तत्कालीन कोशी अञ्चल अस्पताल, विराटनगर र त्यहाँ कार्यरत स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाउँदै ‘विशेष न्यायिक टिप्पणी’ जारी गरेको छ ।

सर्वोच्चले अस्पताल र चिकित्सकले आफ्नो व्यावसायिक र कानूनी दायित्व पूरा नगरेको ठहर गरेको छ । अदालतले यस फैसलाको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय)मा पठाउन निर्देशन दिएको छ । जसमा भविष्यमा यस्ता संवेदनशील मुद्दामा स्वास्थ्य परीक्षण गर्दा चिकित्सकलाई उच्च व्यावसायिक नैतिकता, कानूनी उत्तरदायित्व र इमान्दारीपूर्वक काम गर्न सचेत गराउन निर्देशन दिइएको छ ।

सामूहिक जबर्जस्ती करणीजस्तो जघन्य अपराधमा पीडितलाई अचेत र नग्न अवस्थामा फेला पारी अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले प्रतिवेदन तयार गर्दा पीडितको शारीरिक अवस्थालाई अत्यन्त सतही र लापरबाहीपूर्वक ‘नर्मल’ भनी उल्लेख गरेका थिए ।

पीडितको शरीरमा रहेका गम्भीर चोटपटक, मानसिक आघात र संवेदनशील प्रमाणको विवरणलाई चिकित्सकले प्रतिवेदनमा बेवास्ता गरेका सर्वोच्चको ठहर छ ।

चिकित्सकको यस्तो गैरजिम्मेवार व्यवहारले न्याय सम्पादन प्रक्रियामा अवरोध पुर्‍याएको र दोषी उम्कने परिस्थिति सिर्जना गरेको सर्वोच्च अदालतको निष्कर्ष छ ।

स्वास्थ्य परीक्षण गर्दा संयुक्त राष्ट्रसंघको बैंकक नियम र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को यौनजन्य हिंसाका पीडितको स्वास्थ्य परीक्षण सम्बन्धी निर्देशिकाको पालना नगरिएकाले अदालतले यो कदम चाल्नु परेको स्पष्ट पारेको छ ।

सर्वोच्चले ‘सम्बन्धित अस्पताल र चिकित्सकहरू हाल जे जस्तो जिम्मेवारीमा रहेको भए पनि लिखित सचेत गराउनू’ भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत् साविक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउनू भनी मुख्य रजिष्ट्रारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । 

यस्तो छ फैसलाको पूर्णपाठ :

 

salt training

कमेन्ट गर्नुहोस्