
म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ । हामीबीचको आकर्षण आत्मक हो । यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ ।
अहिले हामी ७० वर्षका भयौँ । सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ ।
जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो । मलाई पनि र उनलाई पनि ।
म र मेरी साथी दुईजनासँगै बस्ने निधो गर्नुको सबैभन्दा ठूलो कारण यही हो ।
स्वतन्त्रता
हामी दुवै एकअर्काभन्दा एकदमै भिन्न छौँ ।
मलाई यो उमेरमा पनि चहकिलो रङ्ग मन पर्छ । मलाई लिपस्टिक लगाउन मन पर्छ ।
तर उनलाई फिक्का रङ्गका सामान मन पर्छन् ।
७० वर्षकी भएर पनि म अग्ला जुत्ता लगाउँछु ।
म टेलिभिजन हेर्छु जबकि उनी मोबाइलमा व्यस्त रहन्छिन् ।
उनी भन्छिन्, "बुढेसकालमा तिमीलाई यो के रोग लागेको हो?"
यही हो हाम्रो जिन्दगी । थोरै ठाकठुक र आफ्नै तरिकाले जिउने स्वतन्त्रता ।
हुन त हामी एउटै छानामुनि बस्दै आएका छौँ । तर हामीले एकअर्काको स्वतन्त्रतामा हस्तक्षेप गरेका छैनौँ ।
आजकलको वैवाहिक सम्बन्धमा यति स्वच्छन्दता कहाँ हुन्छ र? जब अपेक्षा बढ्छन् दुईबीचको सम्बन्ध फिक्का हुँदै जान्छ र अन्ततः तोडिन्छ ।
अतीत
उसो त मेरो पनि बिहे टुटेको थियो । तर त्यो अतीत भइसक्यो र जिन्दगीको त्यो पाना अब म पल्टाउन चाहदिनँ ।
बच्चाहरू ठूला भइसके र आफ्नो जिन्दगीमा अगाडि बढिसके ।
मेरी साथी त सधैँ एक्लै बस्नुपर्नेमा विश्वास राख्थिन् ।
अहिले पनि उनी त्यस्तै सोच्छिन् । हामी एकअर्कासँगै छौँ पनि र छैनौँ पनि ।
यति वर्षदेखि सँगै बस्दै आए पनि एकअर्काका कतिपय बानीको भेउ हामीलाई छैन ।
हाम्रो सम्बन्धको सौन्दर्य पनि यही हो । हामीले एकअर्कालाई पूर्ण रूपमा बुझ्न सकेका छैनौँ र शायद एकअर्काबारेको खुलदुली नमेटिएर पनि होला हामीबीच निकटता कायम छ ।
मान्छेहरूले सोध्ने गर्छन्- एकअर्कालाई हेरेर मात्र दिक्क लाग्दैन तिमीहरूलाई?
तर साँच्चै भन्नुपर्दा हामी एकअर्कासँग निकै कम कुरा गर्छौँ ।
दुई हामी एउटै घरमा त बस्छौँ तर कहिलेकाहीँ खाना खानेबेला मात्र हाम्रो भेटघाट हुन्छ र आ-आफ्नो काममा लाग्छौँ ।
यस्तो बानी हाम्रो जागिर खाएको बेलादेखिकै हो र त्यो अहिले पनि उस्तै छ ।
शुरूमा काम गर्ने महिला हामीकहाँ आउँदा आश्चर्यमा पर्थिन् ।
जिज्ञासा
हाम्रा कोही आफन्त छैनन् भन्नेबारे उनको जिज्ञासा हुन्थ्यो ।
म उनीसँग बहस गर्न चाहन्न थिएँ ।
आफन्त र साथीको मामिलामा हामी निकै धनी छौँ भनेर म उनलाई कसरी सम्झाउन सक्थेँ र?
तर एकअर्कासँगै बस्ने निर्णय हामी दुईको सचेत छनोट थियो ।
काम गर्ने महिलाको हरदिनको चिन्ता हुन्थ्यो कि हाम्रो घरमा चोरी हुनसक्छ वा हामीलाई कसैले मारिदिन सक्छ ।
म उनको चिन्ताप्रति केवल हाँस्न मात्रै सक्थेँ । अनि, एकदिन उनलाई मैले भनिदिएँ, "हाम्रो घरमा चोरेर चोर खुशी हुन सक्ने त्यस्तो केही छैन ।"
उनले मेरा कुरा कति बुझिन् त्यो थाहा छैन । तर हाम्रो जिन्दगीप्रति भने उनको सधैँ सहानुभूति रहने गर्थ्यो ।
यथार्थ के हो भने हाम्रो जिन्दगी त्यस्तै छ जस्तो होओस् भन्ने हामी चाहन्थ्यौँ ।
म बिहान आफ्नै इच्छाले उठ्छु । जिन्दगीमा त्यस्तो हतारो पनि केही छैन ।
म एकताका सोच्थेँ बिहान सबेरै उठूँ र अन्यलाई जस्तै आफ्नोबाहेक अरूको पनि चिन्ता मलाई होओस् ।
यसको अर्थ यो होइन कि जिम्मेवारीबाट पन्छिन हामीले यस्तो जिन्दगी रोज्यौँ ।
हाम्रो घरमा आउने वा हामीले भेट्ने मान्छेलाई लाग्दो हो हामीमाथि कुनै जिम्मेवारी छैन ।
जिम्मेवारी
तर आफूप्रतिको आफ्नो जिम्मेवारी कहाँ कम हुन्छ र?
हामी दुवैजना आफ्नो आवश्यकताका लागि कसैको मुख ताक्दैनौँ ।
मान्छेहरूलाई लाग्दो हो हामी एकअर्कासँग यसरी बसिरहेकोमा केही समस्या पक्कै हुनुपर्छ । तर हामीबीच त्यस्तो केही छैन ।
अरूको सोच बदल्ने वा उनीहरूले के सोच्छन् मलाई त्यसको मतलब छैन ।
म सिन्दूर लगाउँछु र गहनाले सजिन्छु ।
मन लागेसम्म लगाउँछु, मन नलागे लगाउँदिनँ ।
यो सम्बन्धबाट एउटा कुरा बुझियो कि तपाईँ जोसँग पनि बस्न सक्नुहुन्छ । जिन्दगी भने त्यो व्यक्तिसँग मात्रै बिताउन सक्नुहुन्छ जसले साथ दिन्छ तर स्वतन्त्रता खोस्दैन ।
मानिसहरूलाई हामीले बाँचिरहेको जिन्दगी निकै अनौठो लाग्छ ।
उनीहरू यो बुझ्दैनन् कि हामी दुई साथी हौँ, आफूले कमाएको खाइरहेका छौँ, सँगै बसिरहेका छौँ ।
न कसैको केही मागेका छौँ न कसैसँग केही गुनासो गरेका छौं । आखिर यसमा गलत के छ?
(यो उत्तर भारतकी एक महिलाको वास्तविक जीवनमा आधारित घटना हो । उनीसँग बीबीसी संवाददाता भूमिका रायले कुराकानी गरेकी हुन् ।)
- बीबीसी नेपालीबाट