
काठमाडौं, १८ फागुन — पाकिस्तानमा रहेको हिन्दू समुदायले परम्परागत उल्लास र जोशका साथ बिहीवार होली मनाएको छ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने होलीमा आफ्ना नातेदार तथा इष्टमित्रलाई रंग लगाइने गरिन्छ । होलीले खराबमाथि असलको विजयलाई संकेत गर्छ ।
हिन्दू समुदायका विभिन्न स्थान र मन्दिरहरूमा रंगीबिरंगी समारोहहरू आयोजना गरिएका थिए । महिला र बालिबालिकाले पनि न्यानोपन तथा भक्तिभावका साथ दुई दिने होली पर्व मनाए ।
पाकिस्तानभरि हिन्दू मन्दिरहरूको सुरक्षा कडा बनाइएको थियो अनि उत्सव मनाउनेहरूलाई उत्सवस्थलमा निकै खानतलाश गरेपछि मात्र भित्र छिर्न दिइएको थियो ।
पाकिस्तानको जनसंख्या २० करोड छ र हिन्दूहरू लगभग दुई प्रतिशत छन् । तीमध्ये धेरैजसो सिन्ध प्रान्तमा बस्छन् । इतिहासका कारण हिन्दूहरूको समृद्ध पृष्ठभूमि छ । उनीहरू व्यापारमुखी, शिक्षासेवी तथा परोपकारी हुन्छन् र
जहिले पनि मानवता, अन्तर्धार्मिक सौहार्द्र तथा शान्तिमा विश्वास गर्छन्, पाकिस्तान हिन्दू परिषद्का संयोजक अरूण कुमार कुन्दनानीले बताए ।
सिन्ह्वाबाट