काठमाडौं, २२ फागुन– बजार अनुगमन तथा व्यवस्थापनको प्रमुख जिम्मेवार निकाय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सरकारले बजार अनुगमन गर्नु कर्मकाण्डी मात्रै भएको स्वीकार गरेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आफूले अनुगमन गरिरहे पनि दोषीलाई कारबाही गर्ने स्पष्ट आधार नभएकाले करबाही गर्नै नसकिएको बताए ।
लोकान्तर डट्कमको लोकान्तर बिजनेस शोमा कुराकानी गर्दै दाहालले सरकारले स्पष्ट कानून नबनाई संरचनाहरु मात्रै बनाउनुको कुनै अर्थ नभएको बताए । उनले भने, ‘हामीले अनुगमन गरिरहेका छौं, कारबाहीका लागि सिफारिस पनि गरिरहेका छौं । तर, कारबाहीका लागि स्पष्ट नीति छैन, यसमा नीति निर्माताहरुको ध्यान जानुपर्छ ।’
दाहालले कारबाहीका क्रममा शक्तिको प्रभावमा पार्ने प्रयास पनि पटक पटक हुने गरेको बताए । लोकान्तरसँगको कुराकानीमा उनले कर्मचारीतन्त्र र राजनीतिक बिकृतिका कारण देशमा सुशासन कायम हुन नसकेको बताए ।