०९ साउन २०८३, शनिबार

बर्सेनि थपिन्छन् मिर्गौलाका ३ हजार बिरामी, यस्तै अवस्था रहे नि:शुल्क डायलासिस गर्न मुस्किल !

फागुन २२, २०७४
बर्सेनि थपिन्छन् मिर्गौलाका ३ हजार बिरामी, यस्तै अवस्था रहे नि:शुल्क डायलासिस गर्न मुस्किल !

काठमाडौं, २२ फागुन- सरकारले मिर्गौलामा समस्या भएका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गरेसँगै बिरामीको चाप बढ्दै गएको छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले बिरामीको चाप बढ्दै गएकाले डायलाइसिस सेवाले धान्नै नसकेको बताएका छन् । विश्व मिर्गौला दिवसको पूर्वसन्ध्यामा केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. काफ्लेले सरकारले मिर्गौलाका बिरामीलाई प्रदान गरेको सेवाले बिरामीले राहत महसुस गरे पनि डायलाइसिस गराउने बिरामी बढ्दै गए देशले धान्न नसक्ने बताए ।

‘सरकारले मिर्गौलाका बिरामीको डायलासिस तथा प्रत्यारोपण सेवा निशुल्क गरेपछि सेवा लिने बिरामी अत्याधिक बढेका छन्, डायलासिस गराउने बिरामी बढ्दै गए भने हाम्रो देशको आर्थिक अवस्थाले धान्न सक्दैन,’ डा. काफ्लेले भने ।

अब मिर्गौलामा समस्या नै आउन नदिने खालका कार्यक्रम गर्न जरुरी रहेको उनको भनाइ छ ।

मानिसमा मिर्गौलाको समस्या आउनै नदिन केन्द्रले आजबाट ‘मिर्गौला बचाऔं’ अभियान समते शुरु गरेको छ । अभियानमा सहभागी हुने व्यक्तिबाट वर्षमा ५ सय रुपैयाँ संकलन गरेर विभिन्न ठाउँमा मिर्गौला परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने डा. काफ्लेले बताए ।

मिर्गौला प्रत्यारोपणपछिको औषधि खर्च महङ्गो हुँदा धेरै बिरामी डायलाइसिस मात्रै गरेर बस्ने गरेको भन्दै सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको औषधि खर्चमा सहुलीयत दिनुपर्ने उनको भनाइ छ ।

‘सरकारले मिर्गौलापीडितलाई मासिक ५ हजार जीविकोपार्जन भत्ताभन्दा पनि प्रत्यारोपणमा गएका बिरामीलाई निःशुल्क औषधिको व्यवस्था गरिदिँदा उपयुक्त हुन्छ, सरकारले यस्तो व्यवस्था गरेमा औषधिको मूल्य पनि ३० प्रतिशत सस्तो पर्छ,’ उनले भने ।

महिलामा समस्या बढी

गम्भीर मिर्गौला रोगका कारण प्रत्येक वर्ष विश्वमा ६ लाख महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।  मिर्गौलासम्बन्धी रोगबाट विश्वभर १९ करोड ५० लाख महिला प्रभावित भएको तथ्याङ्क छ । नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग रहेको अनुमान छ ।

वार्षिक ३ हजार नयाँ मिर्गौला रोगी थपिने गरेको चिकित्सकहरूको अनुमान छ । नेपालको यकिन तथ्याङ्क नभए पनि पुरुषमा भन्दा महिलामा मिर्गौला रोगको समस्याबाट पीडित हुने गरेको चिकित्सकहरू बताउँछन् । डा. काफ्लेले महिलाहरूमा गर्भवती अवस्थाको जटिलताहरूले मिर्गौला रोग महिलामा बढी भएको बताए ।

डा. काफ्लेले भने- 'सरकारले नि:शुल्क सेवा दिनु राम्रो कुरा हो । सरकारले बिरामी भएपछि डायलाइसिस सेवा त नि:शुल्क गदिएको छ । अब हामीले मिर्गौलामा समस्या नै आउन नदिन कार्यक्रमहरू गर्न जरुरी छ ।'

महिलाहरूमा स्वास्थ्य सेवा र उपचारमा पहुँच नहुँदा महिलाहरू मिर्गौला रोगबाट पीडित भएको डा. काफ्लेको भनाइ छ । यस्तै गर्भवती महिलामा गम्भीर मिर्गौला रोग भएमा आमा र तिनका शिशुमा समेत नकारात्मक असर गर्ने डा. काफ्लेले बताए ।

उनले भने, ‘गर्भवती अवस्थामा स्वास्थ्य र पोशिलो खाना नखाएमा कम तौलको बच्चा जन्मन सक्छ । कम तौल भएको बच्चामा नेफ्रोन कम हुन्छ । त्यो बच्चामा पछि मिर्गौला बिग्रने समस्या हुन्छ । त्यसैले गर्भवती अवस्थामा मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको खाँचो छ ।’

मिर्गौला रोग खर्चिलो भएकाले रोगको शीघ्र पहिचान गरी मिर्गौला स्वास्थ्य राख्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

२१ वर्षमा ४ लाखभन्दा बढीको डायलाइसिस

२०५१ सालबाट बिरामीलाई डायलासिस सेवा प्रदान गर्दै आएको राष्ट्रिय मिर्गौला केन्द्रले  २१ वर्षको अवधिमा ४ लाख ४३ हजार १ सय ७८ वटा डायलाइसिस गरेको छ ।

केन्द्रले  वि.स. २०६५ देखि नेपाल सरकारको निःशुल्क डायलाइसिस कार्यक्रमअन्तर्गत ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र लोपोन्मुख जातिहरुलाई निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ ।

यस्तै २०६६ सालबाट एचआईभी, हेपाटाइटिस बी, सी संक्रमितलाई पनि निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्