
काठमाडौं, ८ चैत- पानीका लागि प्रकृति भन्ने मूल नाराका साथ बिहिबार विश्व पानी दिवस मुलुकभर मनाइँदै छ । जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक संघसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख अर्थात् आजकै दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

जलस्रोतमा धनी मनिने नेपालमा खानेपानीको अभाव भने कायमै छ । सरकारले जलस्रोत व्यवस्थापन गर्दै सही सदुपयोग गर्न नसक्दा सर्बसाधारणहरु खानेपानीका लागि अप्ठ्यारोमा छन् । सरसफाई तथा खानेपानी उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले नेपाललमा राज्यले खानेपानीलाई व्यवस्थापनमा गम्भीर बन्न नसकेको बताए । लोकान्तर शो मा कुराकानी गर्दै उनल मानिसको आधारभूत आवश्यकता पानीका स्रोतसँगको पहुँच सबै नेपालीको हुनुपर्नेमा जोड दिए ।