०९ साउन २०८३, शनिबार
अग्रलेख

अनियन्त्रित खर्चका भयावह नतीजा

अनियन्त्रित खर्चका भयावह नतीजा

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्माले बिहीवार पेश गर्नुभएको ५५औं वार्षिक प्रतिवेदनले राज्यकोषबाट गरिने बेहोरिने खर्चमा अनियमितता बढ्दै गएको चित्र प्रस्तुत गरेको छ । यस क्रममा प्रेसमा आएका बेरुजुका अङ्कले जनसाधारणमा अनिश्चय, अन्योल र चिन्ता पैदा गराउनु अपरिहार्य छ यद्यपि शुक्रवार बिहान महालेखा परीक्षकले रेडियो नेपालका श्रोतागणलाई स्थिति भयावह चाहिँ छैन भनेर आश्वस्त गराउन खोज्नुभएको थियो ।

तर उपलब्ध अङ्क र आँकडाले देखाएको वास्तविकता ओझेलमा पर्न सक्दैन; ५२ खर्ब सात अर्ब ८३ करोड रुपिञाको लेखापरीक्षण गर्दा पाँच खर्ब आठ करोडको बेरुजु निस्केको छ जुन अघिल्लो वर्षको दाँजोमा २६ प्रतिशतभन्दा बढी हो । हुन त बेरुजुका हरेक अङ्कलाई राजस्व चोरी अथवा भ्रष्टाचार भन्न मिल्दैन, परन्तु जिम्मेवार पदाधिकारीहरूले ऐन नियमको परिधिभित्र रहेर काम नगर्दा जनताले तिरेको कर, तिरोको दुरुपयोग भएको अनुमान गर्ने ठाउँ रहन्छ । जस्तो, तीनतले अदालत भवनमा साततल्ले लिफ्ट जडानको लागि ठेक्का दिएको विषय चर्चामा आएको छ । यसैगरी, अघिल्लो वर्षको प्रतिवेदनमा संविधान जारी भएको धेरै महिनपछिसम्म संसद् सचिवालयका कर्मचारीले संविधान मसौदाको काममा अतिरिक्त काम गरेको भन्दै ८० प्रतिशतसम्म भत्ता लिइरहेको कुरा उल्लेख थियो ।

महालेखाको ताजा प्रतिवेदनले औंल्याए अनुसार, हरेक नेपालीको थाप्लोमा करीव २५ हजार रूपिञाको ऋण छ । यो ऋणबाट के कस्तो उत्पादन वा रोजगारीका अवसर बढे अथवा के सेवा सुविधा थपिए त्यसको जानकारी सहज ढङ्गले नागरिकले पाउने प्रबन्ध हुनपर्छ अन्यथा त्यस्तो ऋणभारको औचित्य हुँदैन । जनस्तरबाट प्रश्न उठ्छ : गलत नियत र भद्दा कार्यशैलीका कारण अहिले बोकाइएको ऋणको असामी भावी पुस्तालाई किन बनाउने ?  

केही दिनअघि अर्थमन्त्रीले जारी गर्नुभएको श्वेतपत्रले मुलुकको जर्जर आर्थिक अवस्थालाई चित्रित गरेझैं महालेखाको यस ताजा प्रतिवेदनले खर्चतर्फको अस्तव्यस्ततालाई छर्लङ्ग पारेको छ । सरकारी बजेटबाट नियमित खर्च र विकास परियोजना सञ्चालन गर्ने प्रशासन, सेना, प्रहरी र संवैधानिक समेतका निकायले आर्थिक अनुशासनको पालना नगरे निजीक्षेत्रमा समेत गलत सन्देश प्रवाह हुन्छ । अनि नेपाललाई आर्थिक, प्राविधिक सहयोग दिने दातृराष्ट्र एवं ऋण प्रवाह गर्ने एसियाली विकास बैंक र विश्व बैंक लगायतका संस्थाहरुका सामु यस मुलुकको साख नरहने अवस्था आउन सक्छ । निर्वाचनको माध्यमबाट गठन भएका तीनै तहका सरकार सञ्चालकहरूले आ-आफ्नो कर्तव्य बुझ्नुपर्‍यो, मतदाताप्रतिको जिम्मेवारी बोध गर्नुप-यो ।

यसमा पनि केन्द्रमा बहाल सरकारले विशेष चनाखो हुनु जरूरी छ । 

salt training

कमेन्ट गर्नुहोस्