
काठमाडौं, १२ वैशाख– निद्रा बिथोल्दै मोबाइल फोनले खित्रिङ्ग आवाज निकाल्यो । पारसमणिले आँखा मिच्दै फोन अनलक गरे । मेसेजमा लेखिएको थियो ‘ह्याप्पी बर्थ डे पारस !’ मेसेज पठाउने व्यक्ति पूर्वी युरोप लिथुनियाका व्यक्ति थिए ।
पारसमणि र ती लिथुनियन व्यक्ति वैशाख १२ को भूकम्पमा राजधानीको मध्यकालीन मन्दिरहरूकाबीच बाँच्न सफल भएका थिए । त्यसैले उनीहरू काठमाडौ दरबार स्क्वायरलाई पुनर्जन्र्मभूमि र वैशाख १२ लाई अर्को जन्मदिन मान्दा रहेछन् ।
२०७२ वैशाख १२, शनिबार बिहान ११ः५६ । इतिहासको एक कालो दिनका रूपमा दर्ज भएको समय । बारबाहेक अरु हुबहु समय प्रत्येक वर्ष फर्किन्छ, र बाध्य हुन्छन् साराले नेपालीहरूले त्यो दिन सम्झिन ।
आफूलाई भाग्यले बाँचेको सम्झिने पारसमणि भूकम्प आएपछि पाँचघण्टा दरबार स्क्वायरमा बिताएको समयलाई जीवनको एक महत्त्वपूर्ण अनुभूतिका रूपमा सम्झिन्छन् । अत्यन्तै संकटमा पर्दा मान्छेको समवेदना आफैँले अनुभूत गर्न पाएकोमा उनी खुशी व्यक्त गर्छन् ।
टूरगाइड समेत रहेका पारसमणि त्यो दिन पूर्वी युरोप लिथुनिया दुई नागरिकसहित बिहानै ९ बजे स्वयम्भु पुगेछन् । त्यो दिनको मौसमलाई पारसमणि एक दुर्लभ संयोग भन्छन् । उनी सम्झन्छन्, ‘सधैँ तुवालोले भरिएको देखिने काठमाडौं उपत्यका स्वयम्भुबाट हेर्दा निकै सुन्दर तथा भिजिविलिटी निकै राम्रो थियो । निकै दुर्लभ संयोग थियो, साँच्चिकै स्वयम्भुबाट हेर्दा त्यति राम्रो दृष्य नदेखेको धेरै भइसकेको रहेछ त्यहीबेला अनुभूत गरेँ । प्रतापपुर र अनन्तपुको बीच, जहाँबाट उपत्यका राम्रोसँग हेर्न सकिन्छ, त्यहीँ थियौँ । विमानस्थलमा रनवेसमेत राम्रोसँग देखिएको थियो । मौसम निकै राम्रो थियो । गर्मी समयमा त्यति राम्रो भिजिबिलिटी र चीसो हावा चलेको त्यति राम्रो मौसम एक दुर्लभ संयोग नै थियो । मैले ध्यान नै पो गर्ने हो कि भनेर पाहुनाहरूलाई पनि भनेँ ।’
त्यसपछि पूर्वयोजनाअनुसार पाहुनासहित पारसमणिको समूह काठमाडौं दरबार स्क्वायर गएछ । त्यही एक दिन जहाँ संयोगले भरिएको दिन थियो पारमणिको जीवनमा । उनी दरबार स्क्वायर पुगेपछि गतिला संयोग जुरेछन्, जुन संयोगले उनलाई यी अनुभूति लेख्न अवसर जुर्यो ।
निरन्तर पर्यटक लिएर दरबार स्क्वायर पुग्ने पारसमणि पर्यटकलाई ब्रिफिङका लागि सातौँ शदाब्दीको भवनमध्येको काष्ठमण्डपमा लैजान्थे रे !
काष्ठमण्डपभित्र गएर पर्यटकहरूलाई ब्रिफिङ गर्न सजिलो हुने हुँदा जहिल्यै त्यहीँ लाने पारसमणिलाई त्यहाँ पनि एक संयोग नै जुरेछ । त्यो दिन काष्ठमण्डपमा स्थानीय क्लबको रक्तदान कार्यक्रम रहेछ ।
‘त्यहाँ हल्ला हुन्छ, बाहिरै बसेर कुरा गरौँ’ भन्ने सल्लाहसहित त्रैलोक्य मोहनको मन्दिरअगाडि गरुडको मुर्ति छेउमा दरबार स्क्वायरबारे समान्य ब्रिफिङपछि १२ बजेभन्दा पहिल्यै दर्शन गरिसक्नुपर्ने जीवित देवी कुमारी दर्शन गर्न हतार गरेरै १५ मिनेट पहिला पाहुनाहरूलाई लिएर मन्दिर पुगेछन्, पारसमणि ।
झण्डै १५ मिनेटपछि कुमारीको दर्शन गरेर फर्किँदाको समय उनी यसरी सम्झन्छन्, ‘गद्दी बैठकको अगाडि सेतो दरबारनिर पुग्दा गरुडको प्रसंग निस्किएर फर्केर गरुडको मुर्ति देखाउने भनेर माजुदेगा र त्रैलोक्य मोहन मन्दिरको बीचमा पुगेको बेला रिंगाटा लागेजस्तै भएपछि मैले शरीरमा पानी कम भयो भन्ने सोचेँ र लगत्तै पछाडि फर्किदा पाहुनाहरू पनि आत्तिरहेका थिए ।
उनिहरूलाई केही नभनी आकाशतिर हेर्दा सयौं संख्याका परेवा र काग अस्वभाविक तरिकाले उडिरहेका थिए, आवाज कर्कस आवाज थियो भने कुकुर पनि भुक्न थाले । के भइरहेको भन्ने सोच्न नपाउँदै भुकम्प भएको शंका लागेर अवचेतन मनले नै पाहुनाहरूलाई सूचना दिने गरी ‘इट्स अर्थक्वेक’ भनेर चिच्याएँ ।’
बेहोसपछिको होसमा आउँदा त्यो त्रासदीपूर्ण समय सम्झदै पारसमणि भन्छन्, ‘दुईजना पाहुनालाई दुईहातले तानेर २ मिटर वर आउँदा बेहोस भएछु । होसमा आउँदा मैले आँखा खोल्न खोजे खोल्न सकिन अनुहार छामे आँखाबाट आँशु आइरहेको थियो भने अनुहारभरी पुरानो मन्दिरहरू बनाउँदा लगाइने बज्रको धुलो अनुहार र शरीरभरी ढाकिएको थियो । आँखा पुछे घडी हेर्दा १२ः५ बजेको थियो ।
मुस्किलले २÷३ मिटर टाढा मात्रै देख्न सकिन्थ्यो, धुलैधुलो उडिरहेको थियो । छेउछाउमा इँट्टाहरू मात्रै थिए र झरिरहेका पनि थिए । हामी तीनैजना माजुदेगाको अगाडिपट्टी थियौं ।
मानिसहरूको चिच्याइरहेको आवाज थियो । तर मनमा आएका कुरा शब्दमा व्यक्त गर्नै नसकिने । त्यो समय चलचित्र, कल्पना, सपना वा विपना के थियो सोच्नै सकिएन । मैले पाहुनाहरूलाई चोटपटक लागेको छ कि छैन भनेर हेरेँ र उठाएँ । संयोगबस उनीहरूलाई पनि चोट लागेको थिएन ।’
चारैतिर मन्दिर तथा दरबारहरू भत्किदा कहीँ पनि निस्किने बाटो नभएपछि पारसमणिको टीम पाँच घण्टा त्यहीँ बसेको रहेछ ।
त्यो समयलाई अहिले सम्झिँदा आफू त्यो दिनमा कयौं नेपालीसँगै मर्नसक्ने सम्भावनाको व्याख्या गर्छन् ।
उनी भन्छन्, काष्ठमण्डपमा रक्तदान नभएको भए हामी त्यहीँ जान्थ्यौं र च्यापिन्थ्यौं । हामी कुमारी घर नगइ संग्राहालय गएको भए नि च्यापिन्थ्यौं । त्यसो त हामी जहाँ बाँच्यौ त्यो पनि सुरक्षित ठाउँ थिएन । सत्रौं सताब्दीका दुई मन्दिर माजुदेगा र त्रैलोक्य मोहन मन्दिरको बीचमा थियौं हामी । त्यो दिन सम्झिँदा भाग्यले बाँचेको जस्तै लाग्छ ।’
त्यहाँ बसिरहँदा के के सम्झिनु भयो, हाम्रो जिज्ञासामा उनी भन्छन्, ‘मैले त्यो समय आमालाई धेरै सम्झेँ, फोन गरेँ, तर लागेन । अगाडि हेर्दा एकजना बच्चाको खुट्टाको बुढी औंला मात्रै देखिएको थियो ।
आफ्नै अगाडि मान्छेको मरेको देख्दा, आफैं मर्छु कि भन्ने हुँदाचाहिँ त्यति धेरै डर भन्दा पनि शुन्यता आउँदो रहेछ मनमा । त्यतिबेला एउटा सोचाइ मात्रै थियो, पाहुनाहरूसँगै रहन्छु, छोड्दिन भन्ने लागिरहेको थियो ।
मृत्युको सम्भावनाको म्यासेज आफन्तलाई सहजै सुनाएको अनुभूति पनि पारसमणिसँग छ, ‘अमेरिकामा रहेका मामालाई आफू दरबार स्क्वायरभित्र रहेको जानकारी गराउँदै ‘अब के हुन्छ थाहा छैन, अहिलेसम्म ज्युँदै छु’ भनेर म्यासेज पठाएँं ।’
पाँच घण्टासम्म त्यहाँ बस्दा त्यहाँ रहेको ठूलो घण्टी हेरिरहने र अर्को पराकम्पको प्रतिक्षा गरेको त्यो समय रमाइलो नै लाग्छ पारमणिलाई, ‘कतिबेला पराकम्प आउँछ भनेर प्रतिक्षा मात्रै गरिरह्यौं । जब घण्टी हल्लिन्थ्यो, फेरि भूकम्प आयो भन्ने थाहा पाउँथ्यौं र एकअर्काको हात समात्थ्यौं ।’

भूकम्पको एक घन्टापछी लिथुनियाका नागरिकले फेसबुकमा पोस्ट गरेको तस्बिर
संयोगले पारसमणिको क्यामेरा पनि केही नभएको हुँदा त्यही बेला केही फोटो पनि खिचेछन् । भूकम्पपछि हरेकपटक काठमाडौं दरबार स्क्वायर पुग्दा एउटा अनौठो शक्ति सञ्चार हुने बताउँदै उनी भन्छन्, ‘पुनर्जीवन पाएको ठाउँ हो । जुनसुकै अवस्थामा किन नहोस्, त्यो मेरो सर्वप्रिय सम्पदा क्षेत्र लाग्छ ।’
पाँच घण्टासम्म त्रास र पीडाका बीच पनि साँझ नपरुञ्जेल आफू लडेर ढलेको ठाउँ छोड्न मन नलागेको उनी सम्झिन्छन् ।
सुरक्षाकर्मीले बाहिर ननिस्किनु भन्ने चेतावनी इन्कार गर्दै पर्यटकसहित न्युरोड हुँदै ठमेल पुगेपछि बल्ल आमासँग सामान्य कुरा गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।
आज आएर त्यो वैशाख १२ सम्झदा धेरै वर्ष अघि हेरेको फिक्सन मुभीजस्तो लाग्छ पारसमणिलाई । तर त्यो एक ननफिक्सन समय थियो ।
मृत्यु कुर्दै बसेको त्यो समय साथमा रहेको ती विदेशीहरूलाई उनी कहिल्यै बिर्सिन सक्दैनन् । उसो त ती पर्यटकले पनि पारसमणिको त्यो साथको गुन कहिल्यै बिर्सेनन् । त्यसैले त प्रत्येक वर्ष आजका दिन ‘ह्याप्पी बर्थ डे पारस !’ भनेर म्यासेज पठाउन बिर्सिँदैनन् ।