काठमाडौं, १६ वैशाख– करिब १ खर्बको निर्माण लागतमा बाहिरी चक्रपथ विकास आयोजनाको काम अगाडि बढेको छ । सरकारले शहरी व्यवस्थापनका लागि बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजनाको काम अघि बढेको हो । बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६ दशमलव ६ किलोमिटर क्षत्रेफलको जग्गा एकीकरणका लागि सरकारले उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएसँँगै प्रारम्भिक कार्य शुरु भएको हो ।
सरकारले एक किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने नमूना प्रस्ताव बनाएको छ । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।
बाहिरी चक्रपथ निर्माणका लागि ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् ।
काठमाडौंमा ३५ दशमलव ०८ किमि, ललितपुरमा १५ दशमलव ८० किमि र भक्तपुरमा २१ दशमलव ०५ किमि रहनेगरी चक्रपथ निर्माण गरिनेछ ।
चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ । यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्र्याक खोल्नेसहित वस्ती विकासको पूर्वाधार निर्माण शुरु हुने तयारीमा छ ।
बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्रयाक रहनेछ भने ग्रिन बेल्टसहित किनारामा फुटपाथ पनि विकास गरिनेछ । सडक, फुटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।
चक्रपथको दायाँबायाँ २५० मिटर जग्गा एकिकरण गर्दै सडक, विद्युत, खानेपानी, सार्वजनिक पार्क, पिकनिक स्पट, विद्यालय, अस्पताल, खुला स्थान, सपिङमल, मनोरञ्जन स्थललगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना राखेको छ ।
उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ । ल्याण्ड पुलिङ सिस्टमार्फत बन्न लागेको चबाहिरी चक्रपथमा पनि जग्गा एकिकरणको विवाद भने देखा परिसकेको छ । यसलाई कसरी व्यवस्थापन गरिनेछ ।
नेपालको शहरी विकासका लागि मानक बन्ने भनिएको बाहिरी चक्रपथ कहिले निर्माण भइसक्छ त ? हामीले यो प्रश्न बाहिरी चक्रपथ विकास आयोजना प्रमुख दीपक श्रेष्ठलाई सोधका थियौं । जवाफमा आयोजना प्रमुख श्रेष्ठले अबको ५ वर्षभित्र बाहिरी चक्रपथ बनिसक्ने बताए ।
लोकान्तरकर्मी मनीषा अवस्थीले आयोजना प्रमुख श्रेष्ठसँग बाहिरी चक्रपथसँग सम्बन्धित अन्य विषयमा पनि कुराकानी गरेकी छन् ।
प्रस्तुत छ श्रेष्ठसँगको कुराकानीको सम्पादित भिडियो अंश,