
विश्व राजनीतिको इतिहास र वर्तमानलाई अवलोकन गर्दा स्पष्ट हुन्छ कि प्रत्येक मुलुकले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने सबालमा राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेका हुन्छन् । अन्तर्राष्ट्रिय राजनीतिमा राष्ट्रिय हितको विषयले जति स्थान प्राप्त गर्छ, त्यति नै त्यो मुलुक र त्यहाँका जनता सार्वभौम र शक्तिशाली हुन पुग्छन् ।
राष्ट्रिय हितको सम्बन्ध राष्ट्रियतासंग जोडिएका कारण अन्तर्राष्ट्रिय राजनीतिमा प्रत्येक मुलुक बढी नै सचेत हुन्छन् र हुनु पनि आवश्यक छ । राष्ट्रिय हितको सवालमा आवश्यक संयमता र सन्तुलन कायम गर्न नसक्दा दुईपक्षीय र विश्वयुद्घ समेत हुन पुगेको नजिरलाई नजरअन्दाज गर्न कसैलाई छुट छैन ।
राष्ट्रियताका नाममा बढी आक्रमक हुँदा त्यसले युद्घको बिजारोपण गर्नसक्छ भने यो विषय गौण हुन पुगेमा राष्ट्रको अस्तित्व लोपसमेत हुनपुग्छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिका बहुकेन्द्रहरू हुने गर्छन् । कहिले कुनै एक केन्द्र हावी हुने गर्छन भने कुनै बेला अर्कै । अहिले अमेरिकी शक्ति बढी नै हावी भई आफ्नो दबदबा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सफल भएको देखिँदैछ । कुनैबेला युरोपको आधिपत्य कायम थियो । एक्काइसौँ शताब्दीको वर्तमान घडीमा दक्षिण एसिया उदाउदो छ । जसको प्रमुख कारण हो, भारत र चीनको बढ्दो अर्थतन्त्रमा आ–आफ्नो हैसियत । यो क्रम जारी नै रहने हो भने आउने दिनमा दक्षिण एसियालाई विश्व शक्तिको तक्मा पाउनबाट कसैले रोक्न सक्दैैन ।
विश्व र क्षेत्रीय राजनीतिको यो वृत्तमा नेपालले आफ्नो स्थिति के र कहाँ छ भने कुरालाई आत्ममूल्यांकन गरेको छ या छैन, गम्भीर चासोको विषय हो ।
भारतीय प्रधानमन्त्री आफ्नो चीन भ्रमण सकाएर नेपाल आउन लागेका हुन् । उनको यो यात्राबाट नेपालले अधिकतम लाभ उठाउने प्रयास गर्नुपर्छ ।
अहिले नेपालका स्वनामधारी नागरिक समाजका अगुवाहरूले भन्दैछन्, ‘मोदी सरकारले लगाएको नेपालमाथिको पछिल्लो नाकाबन्दीलाई लिएर माफी माग्यो भने पनि हामी माफी दिँदैनौ ।’ हो, यस्ता राष्ट्रवादका ठेकेदारहरूले उदाउँदै गरेको दक्षिण एसियाली शक्तिको लहरमा नेपालको स्थितिमाथि तुषारापात गराउने निश्चितप्रायः छ ।
गतवर्ष भारत र चीनबीच झण्डै युद्घको अवस्था सिर्जना भएको थियो । तर कुटनीतिका प्रारम्भिक औजार भनिने वार्ता तथा संवादका माध्यमबाट दुवै देशबीचको तनाव साम्य भयो ।
गतसाता मात्र चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्ता दिई भव्य स्वागत मात्रै गरेनन्, अनेक औपचारिक एवम् अनौपचारिक वार्ता समेत गरे । जसले विश्व राजनीतिलाई पनि तरंगित गरेको छ । त्यसलगत्तै हुन लागेको मोदीको नेपाल भ्रमण अर्थपूर्ण छ ।
दशकौंसम्म भारतीय प्रधानमन्त्रीहरूले नेपाल भ्रमण नगरेको इतिहासलाई तोड्दै मोदी प्रधानमन्त्री भएयता तेस्रोपटक नेपाल आउँदैछन् ।
राष्ट्रिय शक्ति भनेको कुनै राष्ट्रमा रहेको विभिन्न शक्तिहरुको समग्र रूप हो । मोर्गन्थाउका अनुसार एक राष्ट्रले अन्य राष्ट्रको व्यवहार एवम् कार्यनीतिमाथि प्रभाव र नियन्त्रण राख्ने चेष्टा गर्दै अर्को राज्यलाई आफ्नो इच्छाअनुसार कार्य गराउँदछ भने त्यो नै राष्ट्रिय शक्ति हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति भनेको प्रकृतिमाथिको राज्यको शक्ति होइन बरु यो त अरु राज्यमाथि प्रभाव पार्न सक्ने क्षमता हो । मोदीको नेपाल भ्रमणमा पनि उनको आफ्नो देश भारतको स्वार्थ नै केन्द्रबिन्दुमा हुन्छ । त्यसैगरी नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रबिन्दुमा राखी भारतबाट लिन सकिने फाइदा हेर्नुपर्छ ।
मोदीको भ्रमणले नेपालको ऐतिहासिक एवम् धार्मिक शहर जनकपुरधामको ख्याति विश्वस्तरमा पुग्नेछ भने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानमा समेत फाइदा पुग्छ । भारतको रामायण सर्किट जस्तो महत्वकांक्षी परियोजनाको एकपक्ष नेपाल रहेको छ, जसमा जनकपुरधाम अग्रपंक्तिमा रहेको हुनाले जनकपुरवासीले मोदीसँग रामायण सर्किट निर्माणमा तीव्रता ल्याउन माग गर्नुपर्छ ।
अहिले निर्माणाधीन रेल्वे सञ्जाललाई बिहारको पटनाबाट सिधै जनकपुरधामसम्म जोड्न सफल भइयो भने नेपालको पर्यटन व्यवसायमा ठूलो फड्को हुनेछ । मधेसको कल्याणका लागि एकमात्र प्रमुख परियोजना अर्थात् हुलाकी राजमार्ग जुन कि दशकौंदेखि अनाथ रहेको परियोजना हो । यसको यथाशीघ्र सम्पन्नताका लागि प्रदेश सरकारले जोडदार माग गनुपर्छ ।
खुला सिमानाका कारण हुने गरेका अपराधिक क्रियाकलापहरूलाई कसरी निर्मुल पार्न सकिन्छ, त्यसतर्फ समेत विशेष चर्चा हुनुपर्छ, मोदीको यस भ्रमणका बेला । त्यसैगरी भारतले नेपालसँग गरेका पुराना विकासे सम्झौता कार्यान्वयनप्रति चनाखो भएर सम्वाद अगाडि बढाउनुपर्छ ।
भारतले आफ्नो नेपाल हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन ल्याइसकेको छ । अहिले भारतले चाहेर पनि नेपाललाई आफ्नो प्राथमिकताबाट बाहिर राख्न सक्दैन । नेपालको वर्तमान राजनीतिक समिकरण र सन् २०१९ मा हुने भारतीय लोकसभाको चुनावलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि अनुकूल राख्नका लागि भारतले अहिले ‘सफ्ट डिप्लोमेसी’ अंगिकार गरेको छ । चीनसँग पनि आउँदो लोकसभाको चुनावसम्म कुनै किसिमको विवादमा अल्झिन चाहँदैन भारत ।
नेपालले अहिलेको बदलिँदो विश्व राजनीतिमा आफ्नो पहिचान बनाउन आफ्ना छिमेकीहरूको सहारा लिई उदाउँदो दक्षिण एसियाली शक्ति निर्माणमा योगदानकर्ताको नाम दर्ज गरायो भने आउने सन्ततिले पनि अहिलेका नेतृत्वको नाम गौरवका साथ लिनेछ । अन्यथा आफ्ना पुर्खा कुटनीतिक तबरले पंगु रहेको भनेर सुन्न बाध्य हुनेछ ।
अन्त्यमा, राष्ट्रवादी बन्न लागिपरेको कथित नागरिक समाजले मोदीको नेपाल भ्रमणलाई अनुकूलता प्रदान गर्ने किसिमको वातावरण सिर्जना गनुपर्छ ।