काठमाडौं, ४ असार – संसारका महानतम फूटबलरमध्येका एक अर्जेन्टिनाका डिएगो म्याराडोना प्रायः विवादमा आइरहन्छन् । रुसमा चलिरहेको फिफा विश्वकपमा पनि उनले विवाद निम्त्याएका छन् ।
शनिवार अर्जेन्टिना र आइसल्यान्डबीचको खेल हेर्न आएका म्याराडोनाले दर्शकदीर्घामा बसेर सिगार पिएको देखियो ।
फिफाले विश्वकप आयोजना गरिएका मैदानमा सिगार, सिगरेट वा अन्य किसिमका तमाखुजन्य पदार्थको प्रयोगलाई गैरकानूनी बनाएको छ । यसरी म्याराडोनाले सिगार पिएर कानून तोडेका हुन् ।
तर रंगशालामा धूम्रपान गर्न नपाइने नियमका बारेमा आफूलाई थाहा नभएको म्याराडोनाले बताए । उनले भने, ‘स्टेडियममा धुम्रपान गर्न नपाइने नियमका बारेमा मलाई थाहै थिएन । यसका लागि म माफी माग्छु । म त आफ्नो टीम
अर्जेन्टिनालाई सपोर्ट गर्न त्यहाँ पुगेको थिएँ ।’
सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा इंग्लयान्डविरुद्ध विवादास्पद ह्यान्ड अफ गड गोलका लागि म्याराडोनाको नाम चर्चित छ । अनि त्यही म्याचमा उनले विपक्षीहरूलाई छलाउँदै गरेको अर्को गोल पनि बहुचर्चित छ ।
फूटबलका यी महान् खेलाडी ड्रगको कुलतमा फसेर पनि विवादित रहे ।
एजेन्सी