![विश्वकपले बनाउला मानसिक रोगी ! कसरी बच्ने ? [डा. ओझासँगको भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/dr.saroj-ojha_S8hA535gNO.png)
काठमाडौं, ८ असार – रुस जारी विश्वकप फुटबल प्रतियोगितामा विश्वका ३२ देशको सहभागिता छ । विश्वकप शुरू भएसँगै सामाजिक सञ्जाल पनि विश्वकपको सन्दर्भले नै भरिएका देखिन्छन् ।
विश्वकपको चर्चा नेपालमा पनि उत्तिकै छ । नेपालीले आफूलाई मनपर्ने खेलाडी र देशको खुलेरै समर्थन गरिरहेका छन् । त्यति मात्रै होइन, केही नेपाली आफूले मन पराएको खेलाडी र देशको राम्रो कुरा प्रचार गर्ने तथा विपक्षी टीमका खेलाडी र समर्थकलाई होच्याउने कार्यमा समेत लागि परेका देखिन्छन् ।
एकअर्काको खिल्ली उडाउने, समर्थन गरेको समूहले गोल नहान्दा दुःखी हुने, रातभरि नसुतेरै विश्वकप हेर्ने नेपालीको प्रवृत्ति देखिन्छ । समर्थकहरू रातभरि नसुतेरै विश्वकप हेर्दा शारीरिक र मानसिक रुपमा अस्वस्थ समेत भएका छन् ।
यस्ता प्रवृत्तिले मानिसमा मानसिक स्वास्थ्य समस्या देखिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले बताए । ‘आफ्नो निन्द्रा नै बिग्रिने गरी रातभर नसुतेर विश्वकप हेर्दा मानसिक स्वास्थ्यमा असर पर्छ,’ उनले भने ।
लोकान्तर डटकमको कार्यक्रम ‘लोकान्तर हेल्थ शो’मा कुराकानी गर्दै डा. ओझाले विश्वकप हेरेकै कारण मानसिक रोग देखिएको बताए । ‘केही दिन अगाडि विश्वकप हेर्दा आफूले समर्थन गरेको टीमले हारेपछि एक समर्थक बेहोस नै भएर टिचिङ अस्पतालको इमर्जेन्सीमा आएका थिए,’ उनले भने, ‘शरीरमा कुनै रोग देखिएन । वाइन खाँदै म्याच हेर्दा धेरै तनाव लिएर बेहोस भएका रहेछन् ।’
विश्वकप हेर्दा निन्द्रा नपुग्ने र समर्थन गरेको टीमले हार्दा धेरै चिन्ता लिने बानीले धेरै डराउने, निन्द्रा खल्बलिने, निराश हुने र डिप्रेसन समेत हुन सक्ने उनले बताए । डा. ओझाले आफूलाई पनि विश्वकप हेर्नमा रुचि रहेको बताउँदै आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर विश्वकप हेर्ने गरेको बताए ।
हेरौं डा. ओझासँग गरिएको भिडियो कुराकानी-