३१ असार २०८३, बुधबार

अभागीको विश्वकप : बन्यो सर्वाधिक आत्मघाती गोलको कीर्तिमान

अभागीको विश्वकप : बन्यो सर्वाधिक आत्मघाती गोलको कीर्तिमान

काठमाडौं, १५ असार – फूटबल विश्वकप २०१८ मा दुईवटा कीर्तिमान बनेका छन् ः पेनाल्टी किक र आत्मघाती गोलको । विश्वकपको समूह चरणको खेलमा नौवटा आत्मघाती गोल भए र यो पछिल्लो कीर्तिमानभन्दा तीन गोल बढी हो । 

स्विडेनसँग हारेको मेक्सिकोका खेलाडी एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि कीर्तिमान तोडिएको थियो । त्यो यस संस्करणको सातौं आत्मघाती गोल थियो । त्यसपछि स्विट्जरल्यान्डका यान सोमरले कोस्टारिकाविरुद्ध आठौं
अनि पनामाविरुद्ध ट्युनिसियाका यासिन मेरियाले नवौं आत्मघाती गोल गरे । 

यो प्रतियोगितामा सबभन्दा धेरै गोल गर्ने कीर्तिमान इंग्ल्यान्डको ह्यारी केनको नाममा छ । उनले पाँच गोल गरेका छन् । उनीभन्दा आत्मघाती गोलको संख्या बढी छ । 

सन् १९९८ को विश्वकपमा सर्वाधिक ६ आत्मघाती गोल भएकोमा त्यो कीर्तिमान भंग  भएको हो । अहिले त समूह चरण मात्र सकिएको अवस्थामा १६ वटा खेल बाँकी नै छन् र आत्मघाती गोलको संख्या बढ्न सक्छ । 

यस विश्वकपका ४८ खेलमा १२२ गोल भइसकेका छन् । फ्रान्स र डेनमार्कको खेल मात्र गोलरहित बराबरीमा टुंगिएको हो । 

एडसन अल्भारेजले गरेको आत्मघाती गोल विश्वकपमा मेक्सिकोको चौथो त्यस्तो गोल थियो र यो पनि एउटा कीर्तिमान नै हो । मेक्सिकोपछि बुल्गेरिया र स्पेनको नाममा तीन–तीन आत्मघाती गोलको कीर्तिमान छ । 

कुल गोलमध्ये आत्मघाती गोलको अनुपात हेर्दा यसपालि १२२ गोलमा नौवटा आत्मघाती रहे भने सन् २०१४ को विश्वकपमा कुल १७१ गोलमध्ये पाँच आत्मघाती गोल भए । सन् १९९८ को विश्वकपमा पनि १७१ गोल नै भएको थियो जसमा ६ आत्मघाती गोल रहे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्