काठमाडौंको गोकर्णेश्वरमा चोरीको आतंक मच्चाउँदै आएका एक जना अहिले प्रहरी हिरासतमा छन् । उनी हुन्- रामेछापका २२ वर्षीय अजय माल्बुके ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले असार २९ गते काठमाडौं जिल्ला अदालतमा अजयसहित तीन जनाविरुद्ध नकबजनी चोरी कसुरमा मुद्दा दायर गरेको छ ।
अनुसन्धानका क्रममा अजयले चोरीको सुन आफ्नै साथीकोमा धितो राखेर पैसा मात्रै लिएनन्, अर्का साथीलाई सुनका टुक्रा दिएर जाँचबुझ गर्न पाठएको तथ्य खुलेको छ । प्रहरीले चोरीको सुन धितो राखेर ७० हजार रूपैयाँ दिएका अमृत गोले र सुनको टुक्रा जाँचका लागि लिने अर्जुन घलानलाई पनि नियन्त्रणमा लिएको थियो ।
अमृतले बयान दिए अनुसार अजयले सुन देखाउँदै ‘यो मेरी श्रीमतीको गहना हो, मलाई एकदमै अर्जेन्ट पैसा चाहिएको छ, धितो राखिदेऊ’ भन्दै ७० हजार रूपैयाँ लिएर गएका थिए । अर्जुनले पनि बयानमा अजयले नै सुनका टुक्रा जाँचका लागि दिएको बताएका छन् ।
नकबजनी चोरी मुद्दामा सरकारी वकिल कार्यालयले अजय ‘पटके कसुरदार’ भएकाले थप सजायको समेत मागदाबी गरेको छ ।
प्रहरीका अनुसार पहिलो घटना गोकर्णेश्वरस्थित ‘म:म हब’ क्याफेमा भएको थियो । मध्यराति क्याफेको सटरमा लगाइएको चाइनिज ताला पेन्चिस प्रयोग गरेर फोडी अजय पसलभित्र प्रवेश गरेका थिए । उनले काउन्टरमा रहेको नगद, चुरोटका बट्टा, बियर र रेडबुल चोरी गरेर फरार भएका थिए ।
बिहान क्याफे सञ्चालक राजु लामाले पसल खोलेपछि चोरी भएको थाहा पाएर प्रहरीमा उजुरी दिएका थिए । घटनास्थल वरपरको सीसीटीभी फुटेज विश्लेषण गर्दा अजयको गतिविधि स्पष्ट देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछमै उनले उक्त चोरी स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यसपछि अजयले सोही क्षेत्रमा रहेको अर्को खाजा पसललाई निशाना बनाएका रहेछन् । उनले सिधै खाजा पसलको ताला नफोडी, सँगै जोडिएको मासु पसलको ताला फोडे । त्यसपछि दुवै पसलबीचको फलामे ग्रिल भत्काएर खाजा पसलभित्र प्रवेश गरी काउन्टरबाट सुनका गरगहना र नगदसहित करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेर फरार भएका थिए ।
घटनापछि पीडित कुमारी लामाको उजुरीका आधारमा प्रहरीले फेरि सीसीटीभी फुटेजको सहारामा अनुसन्धान अघि बढायो । त्यसक्रममा अजयको डेरामा खानतलासी गर्दा ८७ हजार ५२० रूपैयाँ नगद बरामद भएको थियो । तर, चोरी भएका अधिकांश सुनका गरगहना फेला परेनन् ।
प्रहरीले अमृतको कोठाबाट चोरीको एक बेरुवा रिङ र अर्जुनको साथबाट सुनजस्तो देखिने धातुको टुक्रा बरामद गरेको थियो ।
सरकारी वकिलसमक्ष बयान गर्दा अमृत र अर्जुनले आफूहरूलाई अजयले दिएको सुन चोरीको हो भन्ने थाहा नभएको बताएका छन् । सरकारी वकिल कार्यालयले उनीहरूलाई मतियारको रूपमा चित्रित गरेको छ । अजयले पनि चोरी घटनामा अमृत र अर्जुनको संलग्नता नरहेको बताएका छन् ।
भिडियो सामग्री :