
काठमाडौं, २२ असार – प्रसिद्ध दक्षिण कोरियाली कम्पनी सामसङले तीनवटा डिस्प्ले भएको स्मार्टफोनमा काम गर्न थालेको छ । उसले त यसको पेटेन्ट समेत दर्ता गरिसकेको छ ।
लेट्सगोडिजिटलको रिपोर्टअनुसार, सामसङले चार मोडलहरूको पेटेन्ट गराएको हो । त्यसमा एक मोडलमा तीन डिस्प्ले हुनेछन् ।
यो पेटेन्टलाई बिहीवार वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसनले पनि स्वीकृत गरिसकेको छ । तीन डिस्प्ले भएको स्मार्टफोनमा पछाडिपट्टि र छेउमा समेत स्क्रीन हुनेछन् ।
त्यो स्मार्टफोन अलिक मोटो हुन्छ र तेस्रो डिस्प्लेमा अलिकति मात्र कन्टेन्ट देखिनेछ ।
फ्रन्ट र रीयरमा डिस्प्लेले एक साथ काम गर्नेछन् । फ्रन्ट स्क्रीनमा इन्टरनेट ब्राउज गर्न सकिनेछ भने रीयर स्क्रीनमा गेम खेल्न ।
अनि एउटै एप दुवै स्क्रीनमा चलाउन सकिनेछ । पहिलो स्क्रीनमा ह्वाट्सएपमा कसैसँग च्याट गरिरहनुभएको छ भने अर्को स्क्रीनमा त्यतिखेर अर्को व्यक्तिसँग च्याट गर्न सक्नुहुन्छ ।
सामसङले फोल्डेबल स्मार्टफोनमा पनि काम गरिरहेको छ । मिडिया रिपोर्टअनुसार, सामसङले यो स्मार्टफोन ग्यालेक्सी सिरिजअन्तर्गत नै लउन्च गर्न सक्छ । अनि यसलाई अर्को वर्ष हुने मोबाइल वर्ल्ड कांग्रेसमा पनि पेश गरिनेछ ।
यसको मूल्य दुई लाख रुपैयाँसम्म पर्न सक्ने बताइएको छ ।
एजेन्सी