
विराटनगर– विराटनगर–५ का ७६ वर्षीय जगेन्द्र भट्टराई बिहान सबेरैदेखि राती अबेरसम्म आफ्नै गाई गोठमा ब्यस्त हुन्छन् । उनका गोठ गाईले भरिएका छन् । वरिपरिका बारीमा घाँस काट्ने बेला भएको छ ।
उमेरले पाको भएपनि कामले निक्कै कर्मवीर छन् उनी । उनी भन्छन्, ‘कर्मवीरलाई उमेरले छेक्दैन ।’ विराटनगर ५ मा गाईपालन र घाँस खेती गरिरहेका भट्टराई पूर्वकर्मचारी पनि हुन् । उनलाई जागिरबाट अवकाश हुने बितिकै केही गरौं भन्ने लागेको थियो ।
जब उनको पेन्सन रानीजाना दिँदा पनि तलवको बरावर आउने रहेछ भन्ने थाहा भयो अनी उनी समाज र कृषि कर्ममा केही गरौँ भन्ने सोचमा पुगे । अवकाशपछि उनी २–४ महिना धर्मकर्म र घर व्यवहार मिलाउने काममा लागेको उनले सुनाए ।

उनी अहिले ७६ वर्षको उमेरमा ७५ वटा गाईका गोठाला हुन् । उनको गोठभरी गाई, बाच्छा र बाच्छी छन् । ३० वटा माउ र ३५ वटा कोरली बाच्छीसहित अन्य बाच्छा–बाच्छी छन् । विराटनगरको एयरपोर्ट मोडबाट शुरु गरेको गाई पालन अहिले उनले केही पर जामुनगाछी नजिकै सारेका छन् ।
आफ्नो बुद्धी र विवेकले भ्याएसम्म काम गर्दै आएको उनले बताए । गाई पालनबाट धर्म हुने र शुद्ध दुध आफ्नै घरको खान पाईने भएपछि आफैँ गोठमा खटिएर काम गर्न उनी बताउँछन् । भट्टराईले केही कामदार पनि राखेका छन् । उनी भन्छन्, ‘सक्रिय जीवन बिताउँदा स्वस्थ्य भईन्छ भन्ने लागेको छ ।’
४० बर्षे जागिरमा सीडीओेसम्म
उनले ४० बर्ष जागिर खाए । उनले आफ्नो जागिरे जीवनमा स्थानीय विकास अधिकारी, मालपोत कार्यालयको प्रमुख, बिभिन्न आयोगको कर्मचारी तथा प्रमुख जिल्ला अधिकारीसम्म भएर सरकारी निकायमा जागिर खाएका थिए ।

जब जागिरको अवकाश भयो अनी उनले कृषि कर्ममा आफुलाई स्थापित गराउन खोजे । अहिलेकै अवस्थामा काम गरेर अघि बढ्ने हो भने ९५ बर्षसम्म काम गर्न सक्ने उनले सुनाए । क्यान्सर समेत भएर उपचार पछि फर्किएका उनमा एउटा आशा सँगै जाँगर पनि उसै गरी देखिएको छ ।
उनले पछिल्लो समयमा गोबर ग्याँसबाट बिजुली निकाल्ने सोच बनाएका छन् । उनी गाईपालनमा लागेको ४ बर्ष पुगेको छ ।