१८ असार २०८३, बिहीबार

माफिया र तस्करको इशारामा नेता, कहिले सुध्रने देशको राजनीति ?

साउन २२, २०७५
माफिया र तस्करको इशारामा नेता, कहिले सुध्रने देशको राजनीति ?

हाम्रो राजनीति जनकेन्द्रित भएन । लामो समयदेखि यो आत्मकेन्द्रित,  संकीर्ण र सत्तामुखी हुँदै आयो । त्यसले गर्दा देशमा राष्ट्रिय जागरण र राष्ट्रिय एकता आउन सकेन ।

देशको इतिहासका धेरै पहिलेका किराँतकाल, लिच्छवीकाल, मल्लकालका कुरा अहिलेलाई थाती नै राखौं । नेपालको भौगोलिक एकीकरणलाई आधुनिक नेपालतर्फको प्रस्थानविन्दु मान्ने हो भने पनि त्यो एकीकरणपछि जुन राष्ट्रिय जागरण आउनुपर्दथ्यो, त्यो आउन सकेन ।

जबकि सामान्यतः अन्य  देशको एकीकरणपछि त्यसलाई बल प्रदान गर्ने र समृद्ध तुल्याउने चरण शुरू भएको इतिहास हामी पाउँदछौं । बरू हामीकहाँ त्यो एकीकरणपछि राष्ट्रिय चिन्तन र चरित्रको निर्माणको साटो आत्मकेन्द्रित दरबारिया षड्यन्त्रकारी राजनीति शुरू भयो । भाउजु रानी हुने कि देवर राजा हुने विन्दुबाट शुरू भएको त्यो दरबारिया षड्यन्त्र थापा, बस्नेत र पाण्डे जस्ता भाइभारदारको मनोमालिन्य र काटमार हुँदै कोतपर्वपछि चरम उत्कर्षमा पुगेर एकतन्त्री जहानियाँ राणाशासनको उदय भयो ।

त्यसपछि पनि अनेक काण्डहरू भए तर जहानियाँ राणा शासकहरूले त्यसलाई दबाउँदै र दमन गर्दै १०४ वर्षको अन्धकार युग चलाए । त्यस सत्तालाई त्यतिबेलाको ब्रिटिश साम्राज्यवादको आडधाप र भरोसा रहेको कुरा इतिहाससिद्ध तथ्य भएर रहेको छ ।

नेपाली जनताले ठूलो मूल्य चुकाएर राणाा शासनको अन्त्य गरेपछि पनि अपेक्षित र सापेक्ष रूपमा राजनीति जनकेन्द्रित हुन सकेन । त्यो पनि आत्मकेन्द्रित र षड्यन्त्रमूलक नै रह्यो । फलतः १० वर्षको उतारचढावपछि पुनः राणाशाहीपछि शाहशाही चल्यो । तलैदेखि उठेको पञ्चायती प्रजातन्त्रको नाममा राजाको एकतन्त्री हुकुमी शासन शुरू भयो । त्यो सामन्ती अधिनायकवादी शासनका विरुद्ध तीन दशक लामो संघर्ष नेपाली जनताले चलाए । 

त्यस शासनको अन्त्यका लागि पनि ठूलो संघर्ष र बलिदान गर्नुपर्‍यो । तर इतिहास साक्षी छ, त्यसपछि पनि नेपाली राजनीति जालझेल, षड्यन्त्र र संकीर्ण तथा भ्रष्ट स्वार्थभन्दा माथि उठ्न सकेन । त्यसैमा रंगमंगियो र अन्ततः पुनः २०१७ सालकै प्रकृतिको शाही ‘कू’ दोहोरिन जाँदा नेपाली जनताको बृहत् संयुक्त जनआन्दोलन बढ्दै गएर व्यापक र राष्ट्रव्यापी बनेपछि त्यो शाहीतन्त्रले पञ्छिनुपर्‍यो । तर त्यसपछि आएको गणतन्त्रात्मक लोकतन्त्रले पनि जनतामा कुनै नवीन आत्मविश्वास र भरोसाको रक्तसञ्चार र आधार प्रदान गर्न आज सकिरहेको छैन ।

वास्तवमा उपरी ढाँचामा मात्र भएको सतही परिवर्तनले देश र जनताका सबै आधारभूत समस्याहरू – गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या हल हुने कुरा पनि होइन ।

पुरानै सडेगलेका प्रवृत्ति र चरित्रलाई प्रश्रय दिने र काखी च्यापेर हिँड्ने सीमित र संकीर्ण स्वार्थ हाबी र प्रभावी छ । फलतः जुन भ्रष्टाचार, तस्करी, कालोबजारी, असुरक्षा र कुशासनको बोझ नेपाली जनताले सकीनसकी  हिजो बोक्नुपरेको थियो भने त्यसबाट आज पनि कुनै त्राण पाउन सकेको छैन, निकट भविष्यमा पनि पाउन सकिने कुनै वस्तुगत आधार देखापरेको छैन । वास्तवमा उपरी ढाँचामा मात्र भएको सतही परिवर्तनले देश र जनताका सबै आधारभूत समस्याहरू – गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका समस्या हल हुने कुरा पनि होइन ।

यस्तो अपेक्षा गर्नु नै अवस्तुवादी कुरा हो र हुन्छ । यद्यपि यही सतही उपरी ढाँचाको परिवर्तनलाई मात्र पनि देश र जनताको हितमा इमानदारीपूर्वक प्रयुक्त गर्ने हो भने राष्ट्रलाई सकारात्मक दिशातर्फ लैजाने संकेत र लक्षणहरू देखापर्दै जाने थिए । तर २०६३ सालको परिवर्तनपछि पनि उही पुरानै विकृति र विसंगतिहरू नै अझ बढेर गए । संकीर्ण सत्तास्वार्थको लागि आत्मकेन्द्रित अवसरवादी राजनीति यो कालखण्डमा पनि अत्यन्तै हाबी र प्रभावी भएर रह्यो ।

सत्तामा रहे बसेका राजनीतिक दलहरूको नेतृत्वको उठबस, हिमचिम, भेटघाट, कुराकानी कहीँ कतै पनि देश र जनसाधारणको पक्ष र हितमा केन्द्रित देखिएनन् । त्यसको विपरीत उनीहरू यहाँका माफिया, तस्कर, कालाबजारिया, कमिसनखोर, भ्रष्टाचारीहरूकै वरिपरि केन्द्रित रहे । यी हिजोदेखिकै त्याज्य, अमान्य र अस्वीकार्य विसंगतिहरू आज पनि झन् बढेर गए र सर्वत्र व्याप्त भए । त्यसैले जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ मात्र देखे भने आफूहरू ‘तावाबाट उम्केर भुंग्रोमा’ परेको अनुभव गर्न बाहेक अरू केही पाएनन् ।

वास्तवमा नेपाली जनताले जुनसुकै राजनीतिक परिवर्तनपछि पनि धोका खानुपरिरहेको अहिलेसम्मको तीतो अनुभव रहँदै आएको छ र रहिरहेको छ । यस्तो स्थितिमा  सार्थक सुधार आउने कुनै सकारात्मक निकट संकेतको आशा गर्न अहिले सकिने स्थिति पनि बनेको छैन र बन्ने पनि देखिँदैन ।

सामान्यतः कुनै पनि देशमा सामान्य रूपमा पनि अग्रगामी मानिएको राजनीति परिवर्तनपछि जनजीवनमा उत्साह र आत्मविश्वास जाग्दैन, राष्ट्रिय जागरण आउँदैन र जनतामा एकताको मूलबाटोमा हिँड्ने उपयुक्त वातावरण बन्दैन भने त्यहाँ सत्ताको खेल र जालझेल मात्रै प्रमुख कारण हुने गर्दछ । दुनियाँका देशहरूमा राजनीतिक परिवर्तनपछिको नकारात्मक परिस्थिति र  हाम्रो देशको पनि अनुभवले यही मात्र  निचोड निस्कन्छ ।

आन्तरिक र बाह्य गलत चरित्र र चिन्तनको राजनीतिबाट मुक्त नभएसम्म नेपालले सही दिशा र गति लिन नसक्ने कुरा दिउँसोको घामजत्तिकै छर्लंग छ

राजनीतिमा रंगीचंगी सपना भन्दा पनि सत्ताको वास्तविक व्यवहार कस्तो छ त्यसले जनतामा पार्ने असरले कुनै मुलुक विशेष सही या गलत कुन बाटोमा गइरहेको छ त्यसको निर्धारण हुने गर्दछ र हुँदै आएको छ । हाम्रो देश पनि यसबाट अपवाद छैन र जुन स्तरको राजनीति यहाँ चल्दै आएको छ त्यसले अपवाद हुन पनि नदिने स्थिति विद्यमान छ । त्यसैले राजनीतिमा अझै पनि गडबडी नै गडबडीको शृंखला कायमै रहेको छ ।

त्यसमा पनि हाम्रो छिमेकसँगको जस्तो सम्बन्ध ब्रिटिश साम्राज्यवादी कालदेखि नै रहँदै आयो, त्यसमा पनि अहिलेसम्म कुनै तात्त्विक परिवर्तन भएको छैन । साम्राज्यवादले झण्डै २०० वर्षसम्म गाँजेको र शासन गरेको भारतवर्षको शासकवर्ग अहिले पनि नेपालसँग त्यही ब्रिटिशकालीन गलत सम्बन्धकै वरिपरि केन्द्रित रहेको छ । त्यसैले यो सम्बन्ध जतिसुकै गाढा र आत्मीय भनेर शासकहरूले भजन गाउने गरेपनि यथार्थतः त्यस्तो छैन । बरू त्यसको विपरीत केन्द्र र सेरोफेरोकै गलत धरातलमा यो खडा छ । आन्तरिक गडबडीयुक्त राजनीतिमा यो अविवेकी र गलत छिमेकी सम्बन्ध पनि नेपालको परिवर्तनको सही दिशामा प्रायः सधैं अवरोधक बनेर रहँदै आएको छ  ।

यसमा पश्चिमा शक्तिहरूको खेल पनि जेलिएको छ । यसरी आन्तरिक र बाह्य गलत चरित्र र चिन्तनको राजनीतिबाट मुक्त नभएसम्म नेपालले सही दिशा र गति लिन नसक्ने कुरा दिउँसोको घामजत्तिकै छर्लंग छ । बितेको करीब सात दशकको अनुभवले यो जीवन्त यथार्थ सबैका अगाडि खडा गरिदिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्