
डा.एकराज ओझा
विकास विकास भन्ने गर्छौ, विनाश गर्छौ किन ?
आफ्नो देशको माटोलाई राम्रोसँग चिन ।।
सयौं युवा छोड्छन् देश यहाँ हरेक दिन ।
गरीखाने वातावरण हुन दिन्नौ किन ?
भ्रष्टाचारले, पक्षपातले चरम चुली छोयो ।
अन्यायमा परेकाको मन हदै रोयो ।।
रोयो हिमाल, रोयो पहाड, रोयो तराई पनि ।
युवा शक्ति बिना देश कसरी बन्छ अनि ?
भ्रष्टाचारको कमाइलाई कमाइ भन्नु हुन्न ।
अत्याचारी, भ्रष्टाचारीलाई जनबोलीले छुन्न ।।
घोटालाको सम्पत्तिले भलो गर्ने छैन ।
सपनामा, विपनामा रहने छैन चैन ।।
पीडितको त्यो आँसुले ठूलो सराप देला ।
नीतिलाई, नियमलाई नगर है हेला ।।
न्याय गर, निसाफ गर, विभेद नगर ।
कम्तिमा ती ईश्वरको मान्ने गर डर ।।
सही, स्पष्ट सल्लाहलाई विरोध नठान ।
तिनलाई बरु उपयोग औषधी झैं मान ।।
हाम्रो हिमाल, हाम्रो पहाड, हाम्रै हो तराई ।
यो राष्ट्रका सन्तति हौं, कोही छैन पराई ।।
मिलीजुली, खनी–खोस्री हराभरा गरौं ।
आफ्नो मातृभूमिलाई समुन्नत पारौं ।।