
धनगढी – ७ नम्बर प्रदेशका पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ ।
तराईमा बसोबास रहेका पहाडी मूलका नागरिकले पनि धुमधामका साथ ओल्के पर्व मनाएका हुन् । भाइचाराको प्रतीकको रुपमा मनाइने पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजनलाई आदरभाव प्रकट गरेर मनाइने प्रचलन रहेको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार पहिले–पहिले ओल्के पर्वमा ठूलाबडा, मान्यजन तथा उपल्लो जातिका मानिसलाई सम्मान स्वरुप कर्कलाको भित्रिपात, फलफूल आदि दिने र दक्षिणा ग्रहण गर्ने प्रचलन थियो । तर, त्यो संस्कृति भित्रको विकृतिको रुपमा रहेको अध्यक्ष जोशीको बताए । तर, आजभोलि संस्कृतिलाई परिष्कृत गरी ठूलालाई आदर र सानालाई माया बाँडेर मनाउन थालेको पनि उनले बताए ।
ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । यो पर्व छिमेकी देश भारतको कुमाउँ गढवालतिर पनि मनाइने गरिन्छ । आजको दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पकवान आदि लगेर मान्यजन र आफन्त कहाँ भेटघाट गर्न जाने चलन छ ।
पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट नभइ खेतीपातीको कार्य सम्पन्न भएपछि मनाइने सांस्कृतिक पर्वको रुपमा पनि रहेको बताइएको छ ।