१६ असार २०८३, मंगलबार

नदीनाला र झरनाका गुनासाहरू (कविता)

नदीनाला र झरनाका गुनासाहरू (कविता)

वीरेन्द्र कटुवाल

ओडेर,
हिउँका सेता दोलाइँ,
च्यापिएर,
तारे भीरका गल्छेडाहरूमा ।
बालेर,
उत्साहका जुनकिरीहरू,
काटेथ्यौं
दन्त बजाउँदै,
ऋतुधर्मका कैयौं चिसा रातहरू ।
खै,
के दोस्नु र समयलाई पनि,
आएकै हो पटकपटक, 
बाल्दै,
क्रान्तिका समिधाहरू । 
सात साल, छयालीस साल,
बाउन्न, बैसठ्ठी, त्रिसठ्ठी आए, 
तर, आएनन्,
हाम्रो प्यास मेट्ने सुहागरातहरू ।   

कति खेलौं,
लुकामारी, यी अँध्यारा कुइनेटाहरूसित,
कति जुधौं,
यी अक्करिला भीर, पहराहरूसित, 
हामी त आजित भइसक्यौं,
यी अविश्रान्त बाँझा यात्राहरूसित ।
औडाहा हुन्छ, 
देखेर,
चरचर फुटेका, 
तराईका फाँटिला मैदानहरू । 
त्यसै त्यसै, 
आन्दोलित हुन्छौं,
देखेर,
उज्यालो खोज्दै हिँडेका भविष्यका कर्णधारहरू । 
अनि,
उद्विग्न हुन्छ कोख,
देखेर,
तरर्र–तरर्र पसिना काड्दै,
सुकेका झिक्रा र गोबरको गुइँठा बटुल्दै,
भौंतारिरहेका दुई जिउका आमाहरू । 

नभइदिए,
यी भीमकाय पहाडका पर्खालहरू,
किन हेर्नेथियौं र,
अरू कसैको बाटो ?
बग्ने थियौं
तराईका फाँटिला मैदानहरूमा कलकल,
र, 
झुल्ने थियौं बालीनाली भएर, हलहल । 
सक्ने भए, 
किन गुहार्ने थियौं र, अरू कसैलाई ?
पखाल्ने थियौं,
अशक्त आमाहरूको आँसु र पसिना,
जल्ने थियौं विद्युतचूलो भएर 
र, पाक्ने थियौं आफैं मीठो परिकार बनेर ।  
अनि,
बल्ने थियौं, कोठाचोटामा
झलमल्ल,
भविष्यका कर्णधारहरूको, 
आँखाको ज्योति भएर ।

ए, झेली मान्छे हो ?
किन सुन्दैनौ गुनासो, 
हामी नदीनाला र झरनाहरूको ?
कति गर्छौ सौदा, हाम्रो बाँझोपनको,
र, 
लुकाउँछौ आफ्नो नपुंसकता
बुझ्दैनौ भने, 
हाम्रो कलकल बग्ने जवानीको भाषा,
कुराउँछौ कति हामीलाई ?
ढाँट्छौ कति,
तिर्खाएका ती अदना मनहरूलाई,
र, देखाउँछौ, नक्कली मर्दपना ?


हालः जेद्दा, साउदी अरब 

salt training

कमेन्ट गर्नुहोस्