१९ असार २०८३, शुक्रबार

सरकार र आन्दोलनरत चिकित्सकबीच स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै

भदौ १८, २०७५
सरकार र आन्दोलनरत चिकित्सकबीच स्वास्थ्य मन्त्रालयमा वार्ता हुँदै

काठमाडौं –मुलुकी अपराध संहिता ऐन– २०७४ मा संशोधनको माग गर्दै आन्दोलनरत चिकित्सकसँग स्वास्थ्य मन्त्रालयले वार्ता गर्दैछ ।

चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिललाई आफ्नो प्रमाणपत्र समेत बुझाएर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकहरूलाई वार्तामा बोलाएको हो ।

आन्दोलनरत चिकित्सकहरूसँग सोमवार मध्याह्न वार्ता हुने स्वास्थ्य मन्त्रालयका डा. दीपेन्द्ररमण सिंहले लोकान्तरलाई बताए । 

‘हिजोबाट डाक्टरहरूले सेवा नै ठप्प पारेर आन्दोलन गर्नुभयो, त्यसपछि स्वास्थ्य मन्त्रालयले छलफल गरेर उहाँहरूलाई वार्ताका लागि बोलाइएको छ,’ उनले भने, ‘आन्दोलनबाट होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ भनेर उहाँहरूलाई बोलाइएको हो ।’

स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, महासचिव लोचन कार्की र अन्य दुईजना चिकित्सक सहभागी हुँदैछन् ।

‘स्वास्थ्य मन्त्रालयले छलफलका लागि भनेर बोलाएको छ हामी ४ जना जाँदैछौं । उहाँहरूले के कुरामा छलफल गर्नुहुन्छ हामीलाई थाहा छैन,’ संघका अध्यक्ष डा. श्रेष्ठले लोकान्तरसँग भने, ‘हाम्रो एजेन्डा प्रस्ट छ, ऐन संशोधनको प्रक्रिया अगाडि नबढेसम्म आन्दोलनका कार्यक्रम रोकिँदैन ।’

मुलुकी अपराध संहिता ऐनमा इलाजसम्बन्धी कसूरमा संशोधनको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरूले आज देशभरका अस्पतालको प्रशासनिक काम बन्द गराएका छन् ।

यस्तै १९ गते आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना गर्ने कार्य बन्द गर्ने, २० गतेदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरू बन्द गर्ने संघले घोषणा समेत गरेको छ ।

यसैगरी २१ गतेदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरू बन्द गर्ने ।

२२ गतेदेखि आकस्मिक बाहेकका ओपीडीलगायत सम्पूर्ण स्वास्थ्य सेवा संघका मागहरू सम्बोधन नभएसम्म बन्द गर्ने आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्