काठमाडौं, ११ फागुन – व्यवसायीको दबाब खेप्न नसकेर नेपाल आयल निगमले करीब एक महिनाअघि आफैंले ल्याएको पेट्रोलियम ढुवानी विनियमावली संशोधन गर्ने तयारी गरेको छ ।
निगमले गत माघदेखि कार्यान्वयनमा ल्याएको ढुवानी विनियमावलीप्रति विरोध जनाउँदै गत शुक्रवार ढुवानी व्यवसायीले हडताल गरेपछि खल्बलिएको आपूर्ति व्यवस्था अहिलेसम्म तङ्ग्रिन सकेको छैन ।
विनियमावली संशोधन नगरिए हडताललाई थप सशक्त बनाउने चेतावनी दिएपछि निगम ट्याङकर व्यवसायीसामु झुकेको हो ।
निगमले गत माघ १० गतेदेखि विद्यमान पेट्रोलियम ढुवानी विनियमावली संशोधन गरेर पेट्रोलियम ढुवानीका क्रममा चुहावटका नाममा हुने चोरी नियन्त्रण गर्न कडाइ गरेको थियो । तेल ढुवानी गर्दा हुने चोरी नियन्त्रणसँगै व्यवसाय व्यवस्थित गर्न भन्दै निगमले विनियमावली संशोधन गरेको थियो ।
उक्त संशोधनमा ढुवानीका क्रममा हुने तोकिएभन्दा बढी चुहावट भएको देखिए दोब्बर जरिवाना तिराउने उल्लेख थियो । ढुवानीका क्रममा प्राविधिक कारणले हुने नोक्सानी शून्य दशमलब २५ प्रतिशतमात्र हुनुपर्ने र सोभन्दा बढी नोक्सानी भएको भेटिए दोब्बर जरिवाना तिराउने संशोधित विनियमावलीमा उल्लेख थियो ।
त्यसअनुसार २० हजार लिटर पेट्रोल बोक्ने ट्याङ्करमा ढुवानीका क्रममा ५० लिटरभन्दा बढी चुहावट देखिए दोब्बर जरिवाना तिराउने व्यवस्था थियो । एउटा ट्याङ्करले औसतमा २० हजार लिटर पेट्रोलियम बोक्छ । त्यसअघि तोकिएको सीमाभन्दा बढी चुहावट भएको भेटिए सोहीबराबर जरिवाना तिराउने प्रावधान थियो ।
त्यस्तै, पेट्रोलियम ढुवानी गर्ने व्यवसायीसँग पाँचवटा ट्याङ्कर हुनुपर्ने व्यवस्था पनि उक्त संशोधित विनियमावलीले उल्लेख गरेको थियो ।
संशोधित विनियमावलीमाथि विरोध जनाउँदै ढुवानी नै ठप्प पारेर व्यवसायी हडतालमा उत्रेका हुन् । विभिन्न १५ बुँदे माग अघि सार्दै व्यवसायीले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका थिए ।
‘संशोधित विनियमावलीले चुहावट र ट्याङ्करको संख्या बढाउन सम्बन्धमा गरेका व्यवस्था पालना गर्न सम्भव छैन,’ नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले लोकान्तरसँग भने ।
व्यवसायीको चर्को दबाबका बीच निगमले यही सोमवार पुरानै विनियमावलीलाई कायम राख्ने सहमति व्यवसायीलाई दिएको छ ।
निगमका प्रवक्ता भानु खनालका अनुसार हाल कार्यान्वयनमा रहेको विनियमावली संशोधन गरेर पुरानै व्यवस्था कायम राख्ने सहमति भएको छ । ‘उक्त विनियमावली संशोधनका लागि आगामी बोर्ड बैठकमा प्रस्ताव पठाउनेछौं,’ उनले भने ।
व्यवसायीका अन्य मागलाई पनि आवश्यकताअनुसार सम्बोधन गर्नेगरी आगामी बैठकमा पेश गरिने प्रवक्ता खनालले बताए ।
आफूहरूको माग सम्बोधन हुने संकेत पाएपछि हाल व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।
प्राविधिक चुहावटको नाममा व्यवसायीले बदमासी गर्न थालेपछि त्यसमा कडाइ गर्न निगमले दोब्बर जरिवानाको व्यवस्था गरेको थियो । ट्याङ्कर चालकले बाटैबाट तेल चोरी गरी कालोबजारीमा बेच्दै आएको गुनासो बढेपछि निगमले कडाइ गरेको थियो ।
महासंघका अनुसार हाल मुलुकभर करीब १६ सय पेट्रोलियम ढुवानी ट्याङ्कर छन् ।