
काठमाडौं –
नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर
यो गीत नसुन्ने श्रोता, दर्शक शायदै होलान् । दशैं आउनेबित्तिकै धेरैले सम्झिने, रेडियो, टेलिभिजनमा बज्ने अनि सुन्ने कालजयी गीत हो यो । यो गीतको सफलता न सर्जकलाई अनुमान थियो न त गायकलाई नै । यो सदाबहार गीत रचनाको पछाडि आफ्नै कथा छ ।
यस गीतका रचनाकार वरिष्ठ गायक तथा सर्जक नारायण रायमाझीका दाइ स्वर्गीय लक्ष्मण रायमाझी हुन् । उनी भारतीय सेनामा काम गर्थे । नारायण रायमाझीका अनुसार दाइले नै यो गीत लेखेर रेकर्ड गर्न आफूलाई पठाएका थिए ।
उनी सन् १९९९ मा भारत पाकिस्तानबीच भएको ‘कार्गिल युद्ध’ लडेका थिए । सोही समयमा उनले यो गीत रचना गरेको भाइ नारायण बताउँछन् ।
झण्डै २ दशक अगाडि दाइले शब्द लेखेर पठाएको गीत नारायणले एकसरो लोकभाकामा आफ्नै आवाजमा रेकर्ड गराए ।
शुरूमा गीतले त्यति चर्चा पाएन् । पछि २०५७ सालमा दृष्टिविहीन गायक कृष्णभक्त राईले आधुनिक शैलीमा गाएपछि गीतको चर्चा एकाएक चुलियो । नारायणले कल्पना पनि गरेका थिएनन् कि गीतले यति धेरै चर्चा पाउँछ । रेडियो, टेलिभिजनमा यति धेरै स्थान पाउँछ ।
उनी भन्छन्– ʻशुरूमा मैले गाउँमा त्यति नचलेको गीत पछि यति धेरै चल्यो कि जुन मेरो कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो ।ʼ
अहिले दशैंका कालजयी गीतमध्ये यो गीत सबैभन्दा मार्मिक मानिन्छ । परदेशमा रहेका नेपाली फौजीले लडाइँको अन्तिम अवस्थामा आफ्नो घर सम्झिएको अवस्थाको गीत हो यो ।
गीतमा आफू अब घर नफर्कने बताउँदै वर्षदिनको दशैंमा आमालाई जमरा नछर्न र दहीमा टीका नमुछ्न मार्मिक आग्रह गरिएको छ ।
नारायणले झण्डै २ दशकअगाडि ʻकार्गिलʼ भन्ने एल्बम नै निकालेका थिए । जुन गीतमा परदेशीका भावना बोल्ने आफ्ना दाइकै रचनाहरू समावेश गरेका छन् ।
कृष्णभत्तले गाएपछि नमुछे आमा दहीमा टिकालाई प्रशान्त तामाङले चलचित्रका लागि पनि गाएका छन् ।
आफ्नो संगीत र दाइको रचना रहेको गीत दशैंको समयमा जताततै बजेको सुन्दाको आनन्द उनी शब्दमा वर्णन गर्न सक्दैनन् । भन्छन्– ʻदशैंको यथार्थता बोलेको भएरै यति लोकप्रिय बन्यो । म यस गीतलाई मेरो जीवनकै अत्यन्त महत्त्वपूर्ण र आफूलाई बचाइराखेको गीत भन्छु ।ʼ
अहिले पनि दशैंको विषयलाई लिएर थुप्रै गीत रचना भएका छन्, रेकर्ड भएका छन्, बजारमा आएका छन् । तर, पुरानो गीतजति बजेका छैनन् ।
समय, दशैंको यथार्थता भएरै होला नमुछे आमा’ गीत आज पनि दशैंको पर्याय बनिराखेको छ ।
गीतको लोकप्रियताकै कारण नारायण यसलाई पुनः रेकर्ड गर्ने तयारीमा लागेका छन् ।
भन्छन्, ʻट्र्याक बनिसकेको छ, अब अर्को दशैंसम्ममा बजारमा ल्याउँछौं ।
हेर्नुहोस्, गीत :