२७ असार २०८३, शनिबार

मिर्जा दिलदेखि फिदा हुसेनसम्म : भारतीय गोलीले नेपाली मुस्लिम मारिँदा सरकार किन मौन ?

मंसिर ७, २०७५
मिर्जा दिलदेखि फिदा हुसेनसम्म : भारतीय गोलीले नेपाली मुस्लिम मारिँदा सरकार किन मौन ?

काठमाडौं –कात्तिक १८ गते (नोभेम्बर ४ तारिख) मा भारतीय टेलिभिजन जी न्यूजले एउटा समाचार सम्प्रेषण गर्‍यो, अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपालमा आफ्नो नयाँ बेस बनाउन लागेको भनेर ।  

पाकिस्तानको खुफिया एजेन्सी इन्टर–सर्भिस इन्टे्लिजेन्स (आईएसआई)को मद्दतले आतंकवादी संगठन लश्कर–ए–तैयबाले नेपालमा आफ्नो बेस बनाउन लागेको विषय समाचारमा उल्लेख थियो । समाचारका अनुसार पाकिस्तानी सरकारकै लगानीमा नेपालमा एउटा गैर सरकारी संस्था (एनजीओ) सञ्चालनमा आएको छ । जसले नेपालमा सञ्चालित मदरशाको व्यवस्थापन र आर्थिक पक्षमा सहयोग गर्ने गर्छ । 

यस्तो एनजीओले पछिल्लो समय लश्कर–ए–तैयबाको संगठन विस्तार र त्यसका लागि युवामाथि लगानी समेत गर्ने गरेको भारतीय पक्षको आरोप छ । भारतको हरियणामा समेत पाकिस्तानले लगानी गरेको यस्तो एनजीओले युवालाई आतंकवादी गतिविधिका लागि प्रशिक्षण दिने गरेको जी न्यूजको समाचार उल्लेख छ । 

जी न्यूजमा दाबी गरिएको छ कि लश्कर–ऐ–तैयबाले मोरङको विराटनगरमा आफ्नो बेस बनाउन पहिलेदेखि नै सक्रियता बढाएको थियो । जसका लागि अगस्ट महिनामा पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका दुई एजेन्ट मोरङ पुगेको समाचारमा दाबी गरिएको छ । 

भारतीय सक्षापक्षसँग नजिक रहेको मानिने जी न्यूजले नेपालमा आतंकवादीको चहलपहल बढेको समाचार सम्प्रेषण गरेको १७ दिनपछि (बुधवार) मोरङको छिमेकी जिल्ला सुनसरीको दुहवी–९ मा गोली हानी मुस्लिम अगुवा मोहम्मद फिदा हुसेनको हत्या गरियो । 

प्रहरीले हुसेनको हत्याबारे कुनै तथ्यगत प्रमाण भने फेला पारेको छैन । तर अनुसन्धानको प्रारम्भिक चरणमा घटनाको प्रकृति सुनसरीको हरिनगरामा भएको अघिल्लो गोली काण्डसँग मिल्दोजुल्दो रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

असोज ४ गते हरिनगरा गाउँपालिकाको भुटाहा बजारमा मुस्लिम अगुवा खुर्सिद अन्सारीको गोली हानी हत्या गरिएको थियो । भारतीय सुरक्षा निकायले आतंकवादीलाई सहयोग गरेको अभियोगमा ‘वान्टेड’ सूचीमा राखेका खुर्सिदको हत्यामा भारतीय प्रहरीकै संलग्नता रहेको विषय चर्चामा आएको थियो । यद्यपि नेपाल प्रहरीले भने खुर्सिदको हत्याबारे कुनै पनि विषय सार्वजनिक गरेको छैन । 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जना व्यक्ति खुर्सिदलाई गोली हानेर पुनः भारततर्फै भागेका थिए । प्रहरीले घटनामा संलग्नताको आशंका समेत कसैमाथि गरेन । खुर्सिद हत्या प्रकरणमा कुनै शंकास्पद व्यक्ति पनि पक्राउ परेनन् । 

खुर्सिद प्रकरणमा निरीह देखिएको नेपाल प्रहरीले २ महिनाकै अन्तरालमा अर्का नेपाली नागरिक फिदा हुसेनको हत्या हुँदा पनि ‘केही गर्न’ सकेको छैन । हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै फिदा हुसेनका आफन्त र सुनसरीका मुस्लिम समुदाय आक्रोशित र त्रसित छन् । 

२ हप्तादेखि रेकी गरेर हत्या

लोकान्तरसँग अप्रत्यक्ष रूपमा सम्पर्कमा आएका केही स्थानीयका अनुसार दुहवी–९ मा केही दिन अगाडिदेखि नै ‘नचिनेका’ केही व्यक्ति आइरहेका थिए । विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी (पीएसओ)ले लगाउनेजस्तो पोशाक ‘सफारी सुट’ लगाएका व्यक्तिले फिदा हुसेनसहित अन्य व्यक्तिको पिछा गरिरहेका थिए । 

‘सुरक्षाकर्मीजस्तो देखिने केही व्यक्ति आएर फिदाको घर र उनी जहाँजहाँ जान्छन्, त्यहाँ जाने गरेको देखेका थियौं । हामीले त्यतिबेला सामान्य रूपमा लियौं,’ कुराकानीका क्रममा एक स्थानीयले भने, ‘गोली पनि उनीहरूकै मान्छेले हानेको हुनुपर्छ ।’

स्थानीयका अनुसार फिदाको हत्या हुनुअगाडि २ हप्तादेखि हरेक दिन २–३ जना उनको ‘रेकी’ गर्न आइरहन्थे । यद्यपि स्थानीयले उनका साथी हुनसक्ने आंकलन गरेर कुनै चासो लिएनन् । 

फिदाको हत्यामा पनि भारतीय हात ? 

असोज ४ मा हत्या गरिएका खुर्सिद अन्सारीमाथि भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनका सदस्यलाई आरक्षण दिएकोदेखि नेपाली नागरिकता र पासपोर्ट बनाउन सहयोग गरेकोसम्म आरोप लागेको थियो । 

२०७१ साल चैतमा इन्डियन मुजाहिद्दिनका ४ जना सदस्य (डा. सहनवाज, अबु रसिद, मोहम्मद खनिद र सलमान शेख)ले नेपाली नागरिकता र पासपोर्ट लिएको भारतीय पक्षले आरोप लगाउँदै आएको छ । 

स्व. सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका पालामा भारतले खुर्सिदलाई सुपुर्दगी गर्न नेपालसँग अनुरोध गरेको थियो । भारतीय प्रहरीले नेपाल प्रहरीमार्फत गृह मन्त्रालयलाई खुर्सिदलाई सुपुर्दगी गर्न पत्र नै पठाएको थियो । तत्कालीन नेकपा एमालेको राजनीतिमा समेत सक्रिय रहेका खुर्सिदलाई भारतको जिम्मा लगाउन तत्कालीन गृहमन्त्री वामदेव गौतम राजी भएनन् । 

त्यतिबेला भारतले सुनसरीमै पुगेर खुर्सिदलाई अपहरणको शैलीमा पनि भारत लैजान खोजेको थियो । तर नेपाल प्रहरीको अवरोधका कारण भारतीय प्रहरीको मिसन सफल भएन । 

अन्ततः गत असोज ४ गते गोली हानी खुर्सिदको हत्या भयो । प्रहरी स्रोतका अनुसार खुर्सिदको हत्यामा बिहार प्रहरीको प्रतिआतंकवाद सेलको टोली संलग्न रहेका केही प्रारम्भिक प्रमाण फेला परेका थिए । यद्यपि प्रहरीले औपचारिक रूपमा यस्तो विषय स्वीकार गरिसकेको छैन । 

खुर्सिदको हत्या भएको २ महिनापछि नै फिदा हुसेनको हत्या हुनुमा पनि ‘भारतीय प्रहरीकै हात’ रहेको स्थानीयको बुझाइ छ । प्रहरीले पनि यो कोणबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरणको जागिरे भनिएका हुसेन स्थानीय जयबाबा इँटा उद्योगमा व्यवस्थापक पनि थिए । लोकान्तरलाई प्राप्त जानकारीका अनुसार हुसेन स्थानीय मुस्लिम टोलमा सञ्चालित केही मुस्लिम विद्यालय (मदरसा)का लागि सहयोग जुटाउने काम गर्दै आएका थिए । हुसेन संलग्न मदरसामा पछिल्लो समय केही विदेशी संस्थाले समेत आर्थिक सहयोग गरेको थियो । 

केही विदेशी व्यक्ति समेत मदरसामा पढाउन भन्दै आउने गर्थे । विदेशबाट आउने व्यक्तिको ‘स्वागत तथा सत्कारमा’ हुसेन नै बढी सक्रिय हुन्थे । यद्यपि प्रहरी र प्रशासनको नजरमा उनका गतिविधि भने कुनै प्रकारको शंका गर्ने खालको नरहेको एक प्रहरी अधिकारी बताउँछन् । 

मुस्लिममाथि मात्रै किन आक्रमण ? 

नेपाली मुस्लिम कुनै न कुनै प्रकारले भारतीय पक्षको विरुद्धमा काम गरेको आरोपमा मारिने गरिएका छन् । २०५५ सालमा मिर्जा दिल सादबेगको हत्यापछि यो क्रम निरन्तर बढ्दै गएको मानिन्छ । 

१५ असार २०५५ को राति काठमाडौंको सिफलमा गोली हानी मारिएका मिर्जा दिल राप्रपाका नेता तथा पूर्व मन्त्री समेत थिए । उनलाई भारतीय गुन्डा नाइके छोटा राजनको समूहले गोली हानेर मारेको भनिएको थियो । मिर्जा दिलले अन्डवल्र्ड डन दाउद इब्राहिमको सहयोगीका रूपमा काम गरेको आरोप पनि भारतीय पक्षले लगाउने गरेको थियो । 

अब्दुल मजिद मनिहारको १९ असोज २०६६ मा नेपालगञ्जको लालीगुराँस होटेलमा गोली हानी हत्या गरियो । उनीमाथि भारतीय नक्कली नोटको कारोबार गरेको आरोप लगाइयो । 

अब्दुल मजिद मारिएको ३ महिना नपुग्दै १० पुस २०६६ मा  बुटवलको मैनापुर भन्ने ठाउँमा सौकत अली बेगको हत्या भयो ।  

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदमाथि ९ असोज २०६८ मा काठमाडौंको घन्टाघर अगाडी नै गोली प्रहार गरी हत्या गरियो । उनीमाथि मदरसा (इस्लामिक विद्यालय) विस्तार गरेको आरोप थियो । 

व्यापारी अफताब आलम अन्सारीलाई १७ पुस २०७० मा बाराको भवानी जितपुरमा गोली गोली हानी हत्या गरियो । उनीमाथि नक्कली भारतीय नोटको कारोबार गरेको आरोप थियो । 

मिर्जा दिल सादबेगदेखि खुर्सिद आलमसम्म गरी भारतीय पक्षबाट मारिने नेपाली मुस्लिमको संख्या ८ पुगिसकेको छ । बुधवार मारिएका मोहम्मद फिदा हुसेनको हत्यामा समेत भारतीय संलग्नताको आशंका बढ्ने कारण पनि हत्याको प्रकृति एकै हुनु हो । 

तर नेपाल सरकारले भने अहिलेसम्म यस्ता घटनाको वास्तविक कारण अहिलेसम्म खुलाउन सकेको छैन । आतंकवादीसँगको संलग्नता रहेको आरोप लगाउँदै भारतले नेपाली नागरिक मार्ने क्रम कहिलेसम्म चलिरहेने हो ? आम नागरिकले उठाउँदै आएको यो सवालको जवाफ दिनुको विकल्प सरकारसँग छैन । 

salt training

कमेन्ट गर्नुहोस्