२३ असार २०८३, मंगलबार

विमान खरिदबारे मन्त्रीलाई सांसदको प्रश्नै प्रश्न, सत्तारुढ सांसदलाई नै चित्त बुझेन जवाफ

मंसिर १९, २०७५
विमान खरिदबारे मन्त्रीलाई सांसदको प्रश्नै प्रश्न, सत्तारुढ सांसदलाई नै चित्त बुझेन जवाफ
फाइल फोटो

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे जवाफ दिन बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएका छन् ।

बैठकमा उपस्थित मन्त्री अधिकारीलाई लेखा समिति सभापति भरत शाहले विमान खरिदबारे पर्यटन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको भनिएको थियो, उक्त समितिको निष्कर्ष के रह्यो भनेर प्रश्न सोधे । यस्तै विमान खरिद प्रकरणमा अनियमितता भएको आसयसहितको महालेखा परीक्षकको प्रतिवेदनबारे मन्त्रीको राय मागे । 

२४२ टन अधिकतम उडान भारमा विमान खरिद गर्ने भनिए पनि २३० टन उडान भारमा झार्दा पनि मूल्य नघटाउँदा निगमलाई ३ अर्ब रुपैयाँ घाटा भएको सभापति शाहको भनाइ थियो । 

यस्तै विमान निर्माता कम्पनी एयरबस र निगमबीच भएको सम्झौताअनुसार ९३ मिलियन अमेरिकी डलरमा खरिद–बिक्रीको सम्झौता भएकोमा विमानको मूल्य १०४.८ मिलियन डलर कसरी पुग्यो भनेर प्रश्न गरे । 

तर मन्त्री अधिकारीले भने विमान खरिद प्रकरणबारे स्पष्ट जवाफ दिएनन् । मन्त्री अधिकारीले महालेखा परीक्षकको प्रतिवेदनबारे छलफल चलिरहेको बताए । उनले विमान खरिद प्रकरणबारे छानबिन गर्न वायु सेवा निगमलाई नै जिम्मा दिइएको पनि बैठकमा जवाफ दिए । 

विमान खरिद प्रक्रिया २०७१÷७२ देखि नै शुरू भएको पनि उनले उल्लेख गरे । 

मन्त्री अधिकारीको जवाफप्रति समितिका सदस्य (सांसद)हरूले भने आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपाकै सांसद लेखराज भट्टले विमान खरिदमा अनियमितता भएको निकाय वायुसेवा निगमलाई नै छानबिनको जिम्मा दिइनुले झन शंका बढाएको बताए । 

सांसद् विरोध खतिवडाले विमान खरिदबारे मन्त्रीले शुरूबाटै विवादास्पद् अभिव्यक्ति दिएकाले समस्या बढेको बताए । 

सांसद हृदयेश त्रिपाठीले मन्त्रीको जवाफ टार्ने खालको मात्रै भएको बताए । 

सांसद तेजुलाल चौधरीले विमान प्रकरणमा भएको अनियमितताबारे स्वतन्त्र निकायबाट छानबिन हुनुपर्ने बताए । यस्तै नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले वायुसेवा निगमबाट कुनै बिजनेस प्लान नै नबनाई विमान खरिद प्रक्रिया अगाडि बढाइएको बताए ।

बिजनेस प्लान विना नै वायु सेवा निगमलाई विमान खरिदका लागि ऋण दिइएको भन्दै ऋण लगानीकर्ता नागरिक लगानी कोष र कर्मचारी सञ्जय कोषको पनि जवाफ मागिनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्