०२ असार २०८३, मंगलबार

त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]

पुस १, २०७५
त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]

काठमाडौं –नेपालको पहिलो विज्ञान क्याम्पस, अमृत साइन्स क्याम्पसमा दरबन्दी र आंशिकमा गरी १ सय ५१ जना शिक्षक कर्मचारी कार्यरत छन् । तर अधिकांश शिक्षक/प्राध्यापकहरू बाहिरका कलेजमा व्यस्त हुँदा क्याम्पसको अध्ययन भने प्रभावित हुँदै आएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिन अनुसार अमृत साइन्स क्याम्पसका ५५ जना शिक्षक कर्मचारीहरू अन्य सामुदायिक र संस्थागत कलेजमा कार्यरत छन् । 

यसरी निजी कलेजमा व्यस्त हुनेमा कलेजका प्राध्यापक डा. दमणराज गौतमदेखि आंशिक रूपमा भर्ना भएका शिक्षण सहायकहरू समेत छन् । प्राध्यापक डा. गौतम काठमाडौंको तीनकुनेस्थित नासा इन्टरनेशनल कलेजमा अध्यापन गर्छन् । 

स्रोतका अनुसार डा. गौतमले दिउँसो १ बजेदेखि नासा इन्टरनेसनल कलेजमा अध्यापन गर्ने अनुमति लिएका छन् । तर उनी ब्हिान ११ बजेदेखि नै नासामा क्लास लिन्छन् । 

अमृत साइन्स क्याम्पसका उपप्राध्यापक जय प्रकाश हमालले यसअघि अनुमति नै नलिई एउटा निजी कलेजमा अध्यापन गराइरहेका थिए । बानेश्वरस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्समा अध्यापन गर्न स्वीकृति लिएका हमाल अनुमतिविनै सोल्टीमोडस्थित मनमोहन मेमोरियल हेल्थ इन्ष्टिच्यूट एण्ड रिसर्च सेन्टरमा पनि अध्यापन गरिरहेका थिए ।

हमालले ३ मंसिर २०७० देखि मनमोहन मेमोरियल हेल्थ इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टरमा काम गरिरहेकोमा त्रिविको चेतावनीपछि छाडेको जानकारी दिएका थिए । 

हामलकै अनुरोधमा त्रिविले उनलाई २०७२ असार मसान्तसम्म बानेश्वरस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्समा अध्यापन गर्न स्वीकृति दिएको थियो । तर हमाल अहिलेसम्म पनि त्यहाँ कार्यरत छन् । अमृत साइन्स क्याम्पस प्रशासनलाई हामलले स्वीकृति लिए–नलिएकोबारे केही ‘जानकारी छैन’ ।

यी हुन् बाहिरको स्कूल कलेजमा काम गर्ने अमृत साइन्स क्याम्पसका शिक्षक कर्मचारी

कर्मचारी नियुक्तिमा कानूनको उपहास

अमृत साइन्स क्याम्पसमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र शिक्षण सहायक गरी १ सय ५१ जना शिक्षक कर्मचारीको दरबन्दी छ । जसमध्ये ९४ जना मात्रै स्थायी रूपमा नियुक्त छन् । 

बाँकी ५७ जना शिक्षक कर्मचारीलाई करारमा नियुक्त गरिएको छ । यी सबै कर्मचारी नियुक्त गर्दा नियम उल्लंघन गरिएको सतर्कता केन्द्रको अनुसन्धानबाट फेला परेको छ । 

त्रिवि कर्मचारी सेवा सम्बन्धी नियम १० को उपनियम (१) र (१) को (क) अनुसार सेवा आयोगको सिफारिसका आधारमा मात्रै रिक्त पदमा कर्मचारी नियुक्त गर्ने व्यवस्था गरिएको छ । 

पद रिक्त भएको १ महिनाभित्रमा सेवा आयोगलाई सूचना दिएर कर्मचारी नियुक्तिको प्रक्रिया शुरू गरिने नीतिगत व्यवस्था भएपनि अमृत साइन्स क्याम्पसमा सेवा आयोगको स्वीकृतिविनै शिक्षक कर्मचारी नियुक्त गरिएको छ । 

अमृत साइन्स क्याम्पसमा शिक्षण सहायक पदमा ८ जना शिक्षकलाई आंशिक रूपमा नियुक्त गरिएको छ । तर यी आंशिक शिक्षक नियुक्त गर्दा पनि त्रिविको नियम उल्लंघन गरिएको सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । 

त्रिवि कर्मचारी प्रशासन महाशाखाको निर्णय नम्बर ४५४ का अनुसार कुनै विषयको आंशिक शिक्षक नियुक्ति गर्दा त्रिवि केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । स्नातक तहका लागि साप्ताहित न्युनतम १५ पिरियड र स्नातकोत्तर तहका लागि साप्ताहिक कम्तिमा १२ पिरियड कक्षा भार भएमा पाठ्यक्रम बनाएर केन्द्रीय कार्यालयबाट स्वीकृती लिनुपर्ने व्यवस्था भएपनि अमृत साइन्स क्याम्पसमा यसको पालना भएको छैन । 

अनियमित रूपमा रकम खर्च 

अमृत साइन्स क्याम्पस प्रशासनले विभिन्न कार्यक्रम र सहायतका नाममा अनियमित रूपमा रकम खर्च गर्ने गरेको सतर्कता केन्द्रको छानबिनबाट फेला परेको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७३/७४ मा समेत क्याम्पस प्रशासनले २ लाख ५८ हजार रूपैयाँ अनियमित रूपमा खर्च गरेको उल्लेख छ । 

त्रिवि आर्थिक व्यवस्थापन तथा सञ्चय कोषसम्बन्धी नियम २०५० को नियम २४ (७) अनुसार स्वीकृत बजेटभित्र र सम्बन्धित शीर्षक, उपशीर्षकभित्र पर्ने रकम मात्र सिधै खर्च गर्न पाइन्छ । तर क्याम्पस प्रशासनले विभिन्न व्यक्तिलाई अनुदान भनेर १० देखि ५० हजार रूपैयाँसम्म हचुवाका भरमा दिने गरेको भेटिएको छ । 

यस्तै, क्याम्पसमा हुने विभिन्न प्रतियोगितामा समेत अनियमित रूपमा सहायताका नाममा रकम वितरण हुने गरेको सतर्कता केन्द्रले औंल्याएको छ ।

पढ्नुहोस्, यो पनि :

त्रिविमा बेथिति : त्रिचन्द्र कलेजमा आर्थिक अनियमिततादेखि प्राध्यापकको मनपरीसम्म [भाग १]

salt training

कमेन्ट गर्नुहोस्