
काठमाडौं - एकसाता भन्दा लामो समयसम्म काठमाडौंमा चलेको नेपाली कांग्रेस महासमिति बैठक गत आइतवार सकियो तर कांग्रेसका महासमिति सदस्यका सयौं प्रश्नहरू अनुत्तरित रहे । ७७ वटै जिल्ला र विदेशबाट आएका प्रतिनिधिहरू जे जस्ता प्रश्नहरू लिएर आएका थिए, त्यही लिएर फर्के । गत निर्वाचनमा अप्रत्यासित हार बेहोरेर कमजोर तर प्रमुख प्रतिपक्षीको भूमिका निभाइरहेको कांग्रेसले बलियो ‘कमब्याक’ गर्ने छाँटछन्द ल्याएको छैन ।
करोडौं खर्च गरेर तामझामसहित शुरू गरिएको महासमिति बैठक त्यति नै खल्लो बन्यो जतिबेला असान्दर्भिक मानिएको धर्मको बहस बैठकमा छिर्यो । केन्द्रीय कार्यसमितिमा पदाधिकारीहरूको संख्या कति थप्ने र कसरी चुन्ने बहसले सीमित बाटो खर्च लिएर आएका प्रतिनिधिहरूको काठमाडौं बसाइ लम्बियो । ‘पार्टी प्यालेसमा’ आयोजना गरिएको बैठक ‘पार्टी कार्यालय’सम्म सर्यो तर कांग्रेस बलियो हुने दिशातर्फ भने सर्न नसकेको विश्लेषणहरू हुन थालिसकेका छन् ।
काठमाडौंमा आयोजना गरिएको एक साताभन्दा लामो नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिएको विधान संशोधनमा प्राप्त सुझावहरूलाई समेटर केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी सर्वसम्मत रूपमा पारित गर्यो । मंसिर २८ शुक्रवार गते शुरू भएको महासमिति बैठक पदाधिकारीको संख्या र निर्वाचन प्रणाली तोक्न नसकेपछि असाधारण रूपमा आइतवारसम्म लम्बिएको थियो ।
महाधिवेशनपछिको दोस्रो शक्तिशाली भेला मानिएको महासमिति बैठकमा नेताहरूले एकआपसमा पोखेको तीतोले दूरदराजबाट आएका महासमिति सदस्यहरूलाई खल्लोपना महसूस भएको प्रष्ट देखिन्थ्यो । हिन्दूराष्ट्रको माग गर्दै शुरू गरिएको हस्ताक्षर अभियानले महासमितिलाई थप विवादित मात्र बनाएन, बैठकको एजेण्डा नै छायामा पार्ने काम गर्यो । बैठक नेताहरू लड्ने अखडा बन्यो र देश विदेशबाट आएका महासमिति सदस्यहरू हुटिङ गर्ने दर्शकजस्ता बने ।
महासमिति बैठकमा करीब १५ सय महासमिति सदस्यको उपस्थति थियो, तीमध्ये करीब ५ सयजना जति सदस्यले बोल्ने भनेर नाम लेखाएका थिए । तर समयको अभावका कारणले २ सय ५० भन्दा बढी महासमिति सदस्यहरूले बोल्न पाएनन् । पारित भएका प्रतिवेदनहरूमा औपचारिक सुझाव जम्मा २ सय ५० ले दिए । यसरी सबैका सुझाव परिमार्जित प्रतिवेदनहरूमा पर्ने सम्भावना रहेन ।
महासमिति बैठकलाई कतिपय नेता कार्यकर्ताहरूले सरकारविरुद्ध तीतो पोख्ने फोरमका रूपमा लिए । दुईतिहाइ अंकगणित बोकेको सरकारले जनतालाई गुमराहमा पारेको भन्दै सरकार निकम्मा र नालायक बनेको प्रतिक्रिया दिन भ्याए । संसद्मा चुप लागे पनि महासमिति बैठकमा नेपाली कांग्रेसले धीत मरुञ्जेल प्रतिपक्षको भूमिका निभायो ।
तर कतिपय महासमिति सदस्यहरू आन्तरिक रूपान्तरणको बारेमा बहस हुनुपर्ने ठाउँमा अनावश्यक रूपमा सरकारविरुद्ध खनिनु राम्रो नभएको टिप्पणी गर्छन् । ‘कांग्रेस यदि आन्तरिक रूपमा बलियो भएको भए अहिले सिंहदरबारभित्र हामी हुने थियौं,’ महासमितिका एक सदस्य भन्छन्, ‘यो समय भनेको राजनीतिक र सांगठनिक रूपमा कांग्रेसलाई कम्युनिस्टभन्दा अगाडि लैजाने बहस गर्नुपर्ने समय हो ।’
के लिएर फर्के महासमिति प्रतिनिधिहरू ?
महासमिति बैठकले नेता तथा कार्यकर्ताहरूलाई विधान त दियो तर विधान हुबहु कार्यान्वयन गरेको इतिहास नेपाली कांग्रेसको कुनै पनि तहको संगठनमा छैन । महाधिवेशन हुने वर्षबाहेक हरेक वर्ष बस्ने भनिएको महासमितिको बैठक बस्नको लागि ६ वर्ष कुर्नुपरेको तीतो यथार्थ कांग्रेस कार्यकर्तासामु छ ।
महासमिति सदस्य समेत रहेका कांग्रेसका पाल्पा जिल्ला सभापति वीरबहादुर राना भन्छन्, ‘हामीले महासमिति बैठकबाट पार्टीले पारित गरेको विधान र नयाँ ऊर्जा लिएर फर्केका छौं, त्यो ऊर्जालाई हामीले संगठन चुस्त र दुरुस्त बनाउन प्रयोग गर्नेछौं ।’ रानाका अनुसार अबको कांग्रेसको नारा ‘निर्वाचनपछिको अवस्था, सांगठनिक चुस्तता’ हुनेछ । यद्यपि गत निर्वाचनको मुखैमा नेपाली कांग्रेससँग बलियो संगठन रहेको भएपनि पराजय बेहोर्नुपरेको थियो ।
अनावश्यक रूपमा लम्बिएको कांग्रेसको महासमिति बैठकमा दूरदराजबाट आएका प्रतिनिधिहरू निराश बनेका थिए भने कतिपय प्रतिनिधिहरू बैठक समापन अघि नै काठमाडौं छाडिसकेका थिए । आधाआधी प्रतिनिधिहरू अनुपस्थित रहेको बैठकले पारित गरेको विधानको अपनत्व सबैले लिन्छन् कि लिँदैनन् यो महत्त्वपूर्ण बहसको शुरूवात हुन सक्छ ।
यद्यपि विधानलाई महाधिवेशन प्रतिनिधिहरूको सुझाव अनुसार परिमार्जन गर्ने भनिएको छ । बैठक बीचमै छाडेर गएका प्रतिनिधिहरूको सुझाव कसरी समेटिन्छ ? प्रश्न अनुत्तरित छ ।
होला त गुट-उपगुटको अन्त्य ?
नेपाली कांग्रेसभित्र हिन्दुत्वको बहस चलाउँदै आएका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक उद्घाटन सत्रमा भाषण गर्दै पार्टी एकढिक्का हुन नसकेको कारणले चुनाव हारिएको बताएका थिए । पूर्वसभामुख समेत रहेका तारानाथ रानाभाटले त औंला भाँचेर गुटको संख्या गन्दै भनेका थिए,‘कांग्रेसभित्रका गुटहरू एक होइन, दुई होइन, तीन होइन, चार पनि होइन, पाँच …. वटा रहेको समाचार दैनिक सञ्चार माध्यममा आउँछ ।
बैठक समापन गर्दा पार्टीलाई एकढिक्का र बलियो बनाउन भावनात्मक सम्बन्ध आवश्यक रहेको बताउँदै पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसले संगठन सुदृढीकरणका लागि भोलिबाटै तालिका बनाएर नयाँ अभियानका साथ गाउँगाउँ जानुपर्ने धारणा व्यक्त गरेका थिए ।
पार्टी केन्द्रीय सदस्यहरू मात्र नभएर महासमिति बैठकमा बोल्ने अधिकांश शीर्ष नेता र प्रतिनिधिहरूले पनि गुटकै चर्चा गरे । तर बहसको केन्द्रबिन्दु बनेका ‘गुट-उपगुट’ महासमिति बैठक सकिएपछि सकिन्छन् कि झन् मौलाएर जान्छन् त्यो चाहिँ हेर्न बाँकी छ ।