२४ असार २०८३, बुधबार

तीन सय विद्युतीय बस किन्ने 'हचुवा' निर्णय : पहिले ल्याएका थन्किए, छैन चार्जिङ स्टेसन

पुस १३, २०७५
तीन सय विद्युतीय बस किन्ने 'हचुवा' निर्णय : पहिले ल्याएका थन्किए, छैन चार्जिङ स्टेसन

काठमाडौं – सरकारले विना कुनै तयारी ३ सयवटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ सयवटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार जानकारी गराए ।

मन्त्रिपरिषद् बैठकले विद्युतीय बस खरिद गर्ने निर्णय गरिसके पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने विद्युतीय बस खरिदका लागि हालसम्म कुनै तयारी नभएको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले विद्युतीय बस सञ्चालनका लागि नेपालका सडक उपयुक्त रहेपनि चार्जिङ स्टेसन लगायतका केही पूर्वाधारको आवश्यक रहको बताए । ‘हाम्रा बाटा घाटाहरू पुरानै भएकाले त्यस्तो ठूलै तयारी नै गर्नुपर्ने छैन,’ उनले भने, ‘चार्जिङ स्टेसन लगायतक केही पूर्वाधार बनाउनैपर्ने हुन्छ, ।’

मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेपछि बस खरिदको औपचारिक प्रक्रिया शुरू गरिने सापकोटाले बताए । ‘मन्त्रिपरिषद्ले तीन सयवटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘अब निर्णय मन्त्रालयमा आइपुगेपछि विद्युतीय बस खरिद र चार्जिङ स्टेसन निर्माण लगायतका प्रक्रिया अगाडि बढाउने छौं, ।’

उनले विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनी, संघीय सरकार, प्रदेश सरकार लगायतबीचमा समन्वय हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक छलफल भइरहेको समेत बताए ।

मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा पुगेपछि बस खरिदका लागि कम्तीमा तीन महिना समय लाग्ने मन्त्रालयको आंकलन छ । ‘हामीले खरिद प्रक्रियामै पनि एक महिनाको सयम दिएर त टेण्डर आह्वान गर्नु पर्नेहुन्छ,’ उनले थपे, ‘विभिन्न कम्पनी,  संघ र प्रदेशबीचको समन्वय लगायतका कार्य गर्दा कम्तीमा तीनदेखि चार महिना लाग्न सक्छ, ।’

विद्युतीय बस खरिद प्रक्रिया र आवश्यक पूर्वाधार निर्माणको काम मन्त्रिपरिषद्को निर्णय भौतिक मन्त्रालयमा आइपुगेपछि मात्रै अघि बढाइने मन्त्रालयले जानकारी दिएको छ ।

तीन सयवटा विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसन चाहिने र चार्जिङ स्टेसन निर्माणको काम अघि बढाउन समेत सम्बन्धित निकायसँग छलफल भइरहेको सापकोटाको भनाइ थियो ।

विद्युतीय बसका लागि काठमाडौंमा दुईवटा मात्र चार्जिङ स्टेसन छन् । रत्नपार्कस्थित विद्युत् प्राधिकरण र साझा यातायातको कार्यालयमा चार्जिङ स्टेसन भए पनि त्यो निकै नै अपर्याप्त छ ।

यसअघि एसियाली विकास बैंक एडीबीको सहयोगमा लुम्बिनीका लागि भनेर ल्याइएका विद्युतीय बस ललितपुरको पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा थन्किएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गर्दै चढेर सिंहदरबारसम्म पुगेको बस त्यसयता चल्न पाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्