२८ जेठ २०८३, बिहीबार

शिक्षाको भोकले पुल्चोक पुगेकाहरु, ह्वीलचियरकै सहारामा मास्टर क्लियर !

पुस १६, २०७५
शिक्षाको भोकले पुल्चोक पुगेकाहरु, ह्वीलचियरकै सहारामा मास्टर क्लियर !

काठमाडौं–साडीमाथि कालो गाउन । टाउँकोमा कालो टोपी र घाँटीमा पहेलो रंगको घेरा रहेको सेतो स्कार्फ । काखमा थियो दुई महिनाको शिशू ।

ललितपुरको पुलचोकोस्थित इन्जीनियरिङ क्याम्पसको खेल मैदानतर्फ जाँदै थिइन्, वनस्थलिकी मनमाया श्रेष्ठ । चिकित्सा अध्ययन संस्थानबाट स्नातकोत्तर गरेकी श्रेष्ठ सोमबार त्रिभुवन विश्व विद्यालयको ४४ औं दीक्षन्त समारोहमा दीक्षित हुन दुई महिनाको छोरो काखी च्यापेर पुल्चोक पुगेकी थिइन् । 

उनी उदयपुर जिल्ला अस्पतालमा नर्सिङ अफिसरको रुपमा कार्यरत पनि छिन् । तर अहिले सुत्केरी बिदामा छिन् । श्रेष्ठले आफ्नो पढाइ, जागिर र घर परिवारको जिम्मेवारीलाई एकैसाथ पूरा गरिरहेकी छन् । 

‘पढ्ने समयमा बाबु पेटमै थियो, आज दीक्षित हुन आउँदा काखमा छ, खुसी लागेको छ,’ श्रेष्ठले भनिन्, ‘अहिले नर्सिङ अफिसरको रुपमा कार्यरत छु, यही क्षेत्रमा अझै माथि पुग्ने चाहना छ, सुत्केरी बिदापछि फेरी नर्सिङ पेसामै रहन्छु ।’

सोमवार त्रिविको ४४ औं दीक्षान्त समारोहमा त्रिविका विभिन्न अध्ययन संस्थान तथा संकाय अन्तर्गतका ६० वटा आंगिक र १ हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुबाट स्नातक, स्नातकोत्तर, एमफिएल र विद्यावारिधि तह उत्तीर्ण गरेका करिव ९ हजार ५ सय ५ जनाले नाम दर्ता गराई दीक्षित हुन आएका थिए । दीक्षित हुन आउनेहरुमा विभिन्न विषयका फरक प्रतिभा र क्षमता भएका विद्यार्थी उपस्थित थिए ।

ह्वीलचियरकै सहारामा दीक्षान्त समारोहमा 

तिनै ९ हजारको भिडमा थिइन्, काभ्रे पाँचखालकी सरीता कोइराला । दीक्षान्त समारोहको मञ्चमा पहिलो लाइनमा सबै कुर्सीमा थिए । कोइराला भने अगाडिको लाइनमा ह्वीलचियरमा थिइन् । दीक्षान्त समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित हुने उम्मेदवारहरुलाई ४ वटा प्रश्न गरे । सबै दीक्षित हुने उम्मेरवारहरुलाई उभिएर प्रतिज्ञा पूरा गर्न भनियो । सबैले उठेर कुलपति एवम् प्रम ओलीको प्रश्न र प्रतिज्ञालाई पूरा गर्ने सामूहिक प्रतिज्ञा गरे । 

मञ्चको पहिलो लाइनमा रहेकी कोइरालाले ह्वीलचियरमै बसेर कुलपतिको प्रतिज्ञालाई पूरा गर्ने ‘कसम’ खाइन् । 

मानविकि संकायको नेपालीतर्फ स्नातकोत्तर उत्तीर्ण गरेकी कोइराला पहिलो पटक दीक्षित हुन यस्तो समारोहमा पुगेकी थिइन् । उनी आफ्नो शारीरिक कमजोरीलाई आत्मबल र शिक्षाले पछि पार्न सफल भएकी छन् । 

कक्षा ९ मा पढ्दै गर्दा घर पोत्नका लागि माटो खन्न जाँदा माटोको ढिस्कोले पुरिँदा उनको खुट्टा नचल्ने भएको थियो । माटोले पुरिएर स्पाइनल इञ्जुरी भएपछि उनले ह्वीलचियरकै साहरामा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिन् । ह्वीलचियरकै साहरामा दीक्षित हुन पुगेकी कोइराला आफ्नो शैक्षिक सफलतामा खुसी छिन् ।

‘माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्पाइनल इञ्जुरी भयो, तर मैले पढ्न छाडिन्, प्रयास ग¥यो भने सफत भइने रहेछ, आज महसुस गर्दैछु,’ सापकोटाले भनिन्, ‘मेरो शारीरिक अपांगतालाई मैले अवसरको रुपमा लिएको छु । म मेरो शैक्षिक सफलतामा एकदमै खुसी छु ।’

आफ्नो शैक्षिक यात्रामा परिवारको साथ र सहयोगले यो स्थानसम्म आइपुगेको  सापकोटाको भनाइ छ । उनी विगत ४ वर्षदेखि नागरिक उड्यान प्राधिकरणमा कम्युटर अपरेटरको रुपमा समेत कार्यरत छिन् । 

५० वर्षमा डबल मास्टर्स, पढाइको भोक अझै बाँकी छ 

गुल्मीका ५० वर्षिया भीम थापा पनि सोमवार दीक्षित हुन पुल्चोक पुगेका थिए । थापाले यसवर्ष ग्रामिण विकासमा स्नातकोत्तर तहको पढाइ पूरा गरेका हुन् । छोरा र पत्नीलाई साथमै लिएर दीक्षित हुन आएका थापा आफूले दोस्रो पटक स्नातकोत्तर गरेको बताउँछन् ।

‘मैले अहिले ग्रामिण विकासमा मास्टर्स गरेको हो, पढिरहँदा समाजमा पनि सकारात्मक म्यासेज जाने भएर पढिरहेको छु, यो मेरो दोस्रो मास्टर्स हो, म ५० वर्षमा छु, यो दीक्षान्त समारोहमा आउँदा उत्साहित छु,’ थापाले भने, ‘मैले मेरो छोरालाई पनि सँगै लिएर आएको छु, बाबु बुढो हुँदा पनि पढेर दीक्षित भएका थिए भनेर उसले पनि पढोस् भनेर सँगै ल्याएको छु ।’

पत्नी पनि शिक्षित भहेकाले आफ्नो पढाइमा उनको साथ र सहयोग रहेको थापाले बताए । प्रविधिको विकाससँगै नयाँ नयाँ विषयहरु आएकाले अझै पढ्ने चाहना बाँकी रहेको उनको भनाइ थियो । ‘म अझै अर्को विषयमा मास्टर्स गर्ने सोचमा छु, पढाइलाई उमेरले छेक्न सक्दैन । मेरो पढाइको भोक अझै बाँकी नै छ,’ थापाले भने । 

salt training

कमेन्ट गर्नुहोस्